सानिमा रिलायन्स लाइफको वार्षिक साधारण सम्पन्न, लाभांश प्रस्ताव पारित
Last updated at 07:07 am
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ।
कम्पनीका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा भएको सभाले आर्थिक वर्ष २०८०/०८१ को लेखापरिक्षण प्रतिवेदन, वार्षिक प्रतिवेदन र वित्तीय विवरण सर्वसम्मतिले पारित गरेको छ।
सभाले सञ्चालक समितिद्वारा प्रस्तावित ८ प्रतिशत नगद लाभांश (करसहित) तथा १ दशमलव २४८९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यस निर्णयपछि अब कम्पनीको चुक्तापूँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँसम्म पुग्नेछ। साथै, सभाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ।
सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बीमा व्यवसायमा गुणस्तरीय सेवा र दीर्घकालीन रणनीतिमा केन्द्रीत रहेकोबताए। उनले हालै सम्पन्न मर्जरपछि उत्पन्न चुनौतीहरूलाई सन्तुलित ढंगले व्यवस्थापन गर्दै कम्पनीलाई अझ सशक्त र विश्वसनीय बनाउनेतर्फ कार्य भइरहेको पनि बताए ।
सभामा अध्यक्ष केडियाले कम्पनीको मूल्य मान्यता, सुशासनको अभ्यास र दक्ष जनशक्तिको प्रयोगले संस्थालाई बीमा बजारमा फरक पहिचान दिलाउने प्रतिबद्धता व्यक्त गरे।