शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने योजनामा नेपाल पुनर्बीमा कम्पनी
Last updated at 07:24 pm
नेपाल पुनर्बीमा कम्पनी(नेपाल- रि) ले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
सञ्चालक समितिको बैठकले अर्थमन्त्रालयको स्वीकृति लिएर शतप्रतिशत हकप्रद शेयर जारी गरी पूँजी वृद्धि गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । साथै सो प्रस्ताव आगामी साधारणसभामा पेश गर्ने निर्णय पनि कम्पनीले गरेको छ ।
आगामी माघ मसान्तसम्म पुनर्बीमा कम्पनीहरुले न्यूनतम चुक्तापूँजी २० अर्ब रुपैयाँ पुर्याउनेगरी प्रस्ताव गरेका छन् । त्यसैले नेपाल पुनर्बीमा कम्पनीले पनि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ । हाल दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ६००रुपैयाँ हाराहारीमा छ ।
हाल नेपालमा दुई वटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । यसका साथै पछिल्लो समय धितोपत्र बजारमा नेपाल रि र हिमालय रिको शेयरमूल्य निकै चर्चामा छ । खासगरिकन केहि समयदेखि दुबै कम्पनीको चुक्तापूँजी वृद्धि र हकप्रद शेयर आउने विषयले लगानीकर्ताको ध्यान तानेको देखिन्छ ।
नेपाल बीमा प्राधिकरणले तोकेको पूँजीको सीमा एवं व्यवसाय विस्तार गर्न र अन्तरराष्ट्रिय बजारमा उपस्थिति बढाउन चुक्तापूँजी २६ अर्बभन्दा बढी कायम गर्नुपर्ने भन्ने सञ्चालक समितिको सुझाव समेतलाई ध्यानमा राखेर अर्थमन्त्रालयको स्वीकृत लिई हाल कायम रहेका शेयरधनीलाई शतप्रतिशत हकप्रद शेयर जारी गरी पूँजी बृद्धि गर्ने गरी आगामी साधारणसभामा विशेष प्रस्ताव पेश गर्ने निर्णय भएको कम्पनीले बताएको छ ।
कम्पनीले नेपाल धितोत्रप बोर्डबाट अनुमति पाएमा शतप्रतिशत शेयर निष्कासन गर्ने हो भने कम्पनीको पूँजी पौने २७ अर्ब रुपैयाँ पुग्नेछ ।