५० लाख अमेरिकी डलरको दिगो पर्यटन परियोजना सम्बन्धी सम्झौता
Last updated at 04:30 pm
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल (यूएनडीपी नेपाल) ले संयुक्त रूपमा दिगो पर्यटन परियोजना (एसटीपी) सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
पर्यटन बोर्डमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी र यूएनडीपी नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र यूएनडीपीको एशिया र प्यासिफिक क्षेत्रीय निर्देशक क्रिस्टोफ बहुइटको उपस्थितिमा बोर्डका सीईओ जोशी र यूएनडीपी-नेपालकी आवासीय प्रतिनिधि योकोसुकाले सम्झौतापत्र आदानप्रदान गरेका हुन्।
स्थानीय समुदायका लागि रोजगारी र जीविकोपार्जनका अवसर सृजना गर्ने उद्देश्यसहित पर्यटन सेवासुविधा सुधार, पर्यटन कार्यबललाई सीपमूलक तालिम र पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्न अघि बढाइएको यो परियोजनाको सफलताका लागि सरकार प्रतिबद्ध रहेको मन्त्रालयका सचिव सिंहले बताएका छन्।
कुल लागत ५ मिलियन (५० लाख) अमेरिकी डलर रहेको यो परियोजनामा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले प्रत्येकले १ दशमलव ५ मिलियन अमेरिकी डलर योगदान गर्नेछन् भने थप २ मिलियन अमेरिकी डलर संयुक्त रूपमा परिचालन गरिनेछ।
यस परियोजनाले तीन वर्षको अवधि (२०२५ – २०२८) मा २ हजार ५०० दिगो रोजगारी सृजना गर्ने र ५ हजार जनालाई पर्यटनसम्बन्धी सीप अभिवृद्धि गर्ने लक्ष्य छ।प्रमुख पर्यटकीय स्थलहरूमा साना पर्यटन पूर्वाधार तथा पदमार्गहरूको निर्माण र सुधारका साथै नेपालको पर्यटन डिजिटलाइजेशनलाई प्रवर्द्धन गरी सेवा प्रभावकारिता र पहुँच वृद्धि गरिने यस परियोजनाको लक्ष्य छ।
सीईओ जोशीले परियोजनाले नेपालमा पर्यटन अनुभवलाई मात्र उन्नति गर्ने मात्र नभई स्थानीय समुदायलाई रोजगार र उद्यमशीलताका अवसरहरू प्रदान गर्दै नेपाललाई एक सशक्त र विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न मद्दत गर्ने बताए।
त्यसैगरी यूएनडीपी नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले भनिन्, ‘नेपालको पर्यटन क्षेत्रको रूपान्तरणमा युएनडीपीले जोडिन पाउँदा गर्व महसुस गरेको छ। यो परियोजना स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी नेपालको आर्थिक सम्भावना वृद्धि गर्न र दिगो पर्यटनलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता छ।’