विन्ध्यबासिनी हाइड्रोपावरको विद्युत बिक्री आम्दानीमा वृद्धि, यस्ता छन् अन्य सूचक
Last updated at 07:35 am
विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सोमबार प्रकाशित गरेको छ। जसअनुसार उक्त अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ।
चालू आवको असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट १६ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा १० दशमलव ४९ प्रतिशतले बढी हो। गत आवको सोही अवधिसम्ममा भने कम्पनीले १५ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको थियो।
विद्युत बिक्री आम्दानी बढेकाले कम्पनीको खुद नाफामा टेवा पुगेको देखिन्छ। समीक्षा अवधिमा कम्पनीले ८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। त्यस्तै कम्पनीको वित्तीय खर्च भने ३ करोड २२ लाख रुपैयाँ छ।
कम्पनीको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ८७ पैसा छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ८८ पैसा छ भने मूल्य आम्दानी अनुपात १७ दशमलव ६८ गुणा छ।
कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड रुपैयाँ छ । धितोपत्र बजारमा हाल कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५१३ रुपैयाँ छ ।
