राधी विद्युतले पायो ६९ दशमलव ८९ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न पूर्व स्वीकृति
Last updated at 12:25 pm
राधी विद्युत कम्पनी लिमिटेडले विद्युत नियमन आयोगबाट ६९ दशमलव ८९ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि पूर्व स्वीकृति पाएको छ ।
कम्पनीलाई उक्त हकप्रद शेयर निष्कासनका लागि आयोगले गत कात्तिक २ गते पूर्व स्वीकृति प्रदान गरेको हो ।जलविद्युत कम्पनीहरुले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपूर्व विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
सोही व्यवस्था बमोजिक कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार रुपैयाँको आधारमा १ बराबर शून्य दशमलव ६९८९ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न आयोगको पूर्व स्वीकृति लिएको हो ।
अब यसपछि कम्पनीले बोर्डमा निष्कासन प्रक्रिया अघि बढाउनेछ । कम्पनीले ४५ मेगावाट क्षमताको कसुवाखोला जलविद्युत आयोजना निर्माणका लागि कसुवा खोला हाइड्रोपावर लिमिटेडमा ७० प्रतिशत शेयर स्वामित्व कायम गरेको छ ।
कम्पनीले आफ्नो चुक्तापूँजीमध्ये ५२ दशमलव ४८ प्रतिशत कसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्ने र बाँकी १७ दशमलव ४१ प्रतिशत रकम भने ऋण तिर्नका लागि उपयोग गर्ने बताएको छ । सोही योजनालाई ध्यानमा राखी आयोगले कम्पनीलाई हकप्रद शेयर निष्कासनका लागि पूर्व स्वीकृति प्रदान गरेको जानकारी दिएको छ ।
