नर्थ समिट हाइड्रोले बोलायो साधारणसभा, आईपीओ निष्कासन गर्ने प्रस्ताव
Last updated at 07:28 am
नर्थ समिट हाइड्रो लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।आईपीओसहितका प्रस्तावहरु पारित गर्न कम्पनीले आगामी असार १५ गते आइतबार साढे १० बजे नवौं वार्षिक साधारण सभा बोलाएको छ।
सभा बसेर बुटिक होटल बबरमहलमा हुनेछ ।सभाले सञ्चालक समिति निर्वाचन,आर्थिक वर्ष २०८१/ ०८२का लागि लेखापरीक्षक नियुक्त गर्ने,आव २०८०/०८१को आयविवरण,वासलात,नगदप्रवाह विवरणलगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
यसैबीच,आईपीओ निष्कासनका लागि कम्पनीले माछापुच्छ्रे क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । कम्पनीको प्राथमिक शेयर निष्कासनका लागि संस्थागत परामर्श सेवाका साथै निष्कासन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात् कुल ३८ लाख ४० हजार कित्ताको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले हुने ३८ करोड ४० लाख रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नेछ ।
उक्त अवसरमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी नर्थ समिट हाइड्रो लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक बालेन्द्र क्षेत्रीद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नर्थ समिट हाइड्रो लिमिटेडले लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका भएर बग्ने न्यादी र फिदीखोलाको पानीको बहाव सदुपयोग गरी २१ दशमलव ४ मेगावट क्षमताको न्यादी फिदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।