५३.५ मेवा क्षमताको माथिल्लो म्याग्दी–१ मा लगानी गर्ने नेपाल इन्फ्रास्ट्रक्चर्सको घोषणा
Last updated at 02:08 pm
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डको व्यवस्थापक ग्लोबल इक्विटी फण्ड लिमिटेडले ५३ दशमलव ५ मेगावाट(मेवा) क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनामा लगानी गर्ने घोषणा गरेको छ ।
ऊर्जा डेभलपर्सद्वारा प्रवर्द्धित र अपर म्याग्दी हाइड्रोपावर लिमिटेडमार्फत विकास भइरहेको यो आयोजनामा फण्डको लगानीलाई दीर्घकालीन हरित ऊर्जातर्फको अग्रसरता मानिएको छ।
नेपालमा हाल जलविद्युत् उत्पादनको सैद्धान्तिक क्षमता उच्च भए पनि प्रयोग न्यून रहेको अवस्थामा, यस्तो आयोजना घरेलु ऊर्जा आपूर्ति सुदृढ गर्न, ऊर्जा आयातमा निर्भरता घटाउन र कार्बन न्यूट्रल भविष्यतर्फको यात्रालाई गति दिने विश्वास छ।
माथिल्लो म्याग्दी–१ आयोजना रन अफ रिभर प्रविधिमा आधारित हुनेछ। यसले राष्ट्रिय प्रसारण लाइनमार्फत ऊर्जा आपूर्ति गर्दै नेपाल सरकारको नवीकरणीय ऊर्जा रणनीतिलाई बलियो बनाउने अपेक्षा गरिएको छ।
ऊर्जा डेभलपर्सले २०३० सम्ममा १ गिगावाट हरित ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ।उर्जाका प्रबन्ध निर्देशक भानु पोखरेलले भने, “ग्लोबल इक्विटी फण्डसँगको सहकार्यले परियोजनाको सम्भाव्यता प्रमाणित गरेको छ। यो लगानीले हाम्रो १ गिगावाट लक्ष्य मात्र होइन, म्याग्दीको स्थानीय विकासमा पनि टेवा दिनेछ।”
फण्डका अध्यक्ष डा मनिष थापाले बताए, “नेपालमा दिगो पूर्वाधार विकासमा योगदान पुर्याउने हाम्रो उद्देश्य अनुरूप यो लगानी गरिएको हो। ऊर्जा स्वतन्त्रता र समृद्ध नेपाल निर्माणमा यस्ता परियोजनाको महत्त्वपूर्ण भूमिका रहनेछ।”
ग्लोबल इक्विटी फण्ड लिमिटेड नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पहिलो निजी इक्विटीरभेञ्चर क्यापिटल फण्ड व्यवस्थापक हो, जसले पूर्वाधार क्षेत्रमा ठूलो पूँजी प्रवाह गर्दै आएको छ।