तेस्रो त्रैमासमा अपर तामाकोशीको नोक्सानी बढ्यो
Last updated at 07:18 pm
अपर तामाकोशी हाइड्रोपावरले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार उक्त अवधिमा कम्पनी नोक्सानीमा छ ।
उक्त अवधिसम्ममा कम्पनी २ अर्ब ६ करोड रुपैयाँ नोक्सानीमा छ । गत आवको सोही अवधिको तुलनानमा कम्पनीको नोक्सानी ६७ करोड ६१ लाख रुपैयाँले बढेको हो । गत आवको सोही अवधिमा कम्पनी १ अर्ब ३९ करोड रुपैयाँ मात्र नोक्सानीमा थियो ।
विद्युत् बिक्री आम्दानी घटेकाले कम्पनीको घाटा बढ्नमा टेवा पुगेको हो । चालू आवको चैत मसान्तसम्ममा कम्पनीले विद्युत् बिक्रीबाट ४ अर्ब २७ करोड रुपैयाँ आम्दानी गरेको छ ।
गत आवको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्री गरेर ६ अर्ब ५३ करोड २ लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यसैगरी, कम्पनीको वित्तीय खर्च ४ अर्ब ६ करोड रुपैयाँ छ ।
कम्पनीको रिजर्भ कोष १२ अर्ब १८ करोड रुपैयाँले ऋणात्मक छ । यसैगरी, कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७६ पैसाले ऋणात्मक छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ ४६ रुपैयाँ ७९ पैसा छ ।
कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड रुपैयाँ छ । साताको दोस्रो कारोबार दिन मंगलबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २०१ रुपैयाँ छ ।