पुन : सञ्चालनमा आयो माथिल्लो रावाखोला जलविद्युत् आयोजना
Last updated at 07:37 am
खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले मुआब्जा माग गर्दै अवरुद्ध गराएको माथिल्लो रावाखोला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ ।
त्यहाँका स्थानीयवासीले जलविद्युत् आयोजना बन्द गराएपछि केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राईको पहलमा मङ्गलबार बसेको सर्वपक्षीय भेलाले ३५ दिनभित्र जग्गाधनीलाई मुआब्जा उपलब्ध गराउने सहमति गरेको छ ।
लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले सुङ्देल र दिप्सुङको सिमानामा रहेको रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको ड्याम (बाँध) बाट गत सोमबारदेखि बन्द गराएका थिए । जसका कारण आयोजनाबाट विद्युत् उत्पादन बन्द हुन पुगेको थियो ।राष्ट्रिय प्रशारण लाइनमा जडान गरिएको जलविद्युत् आयोजनाले जग्गाधनीलाई मुआब्जा नदिएपछि स्थानीयवासीले आयोजना नै बन्द गराएका थिए ।
सर्वपक्षीय भेलामा जग्गाधनी र जलविद्युत् आयोजना सञ्चालकबीच भएको सहमति कार्यान्वयनका लागि स्थानीय रत्नबहादुर राईको संयोजकत्वमा सात सदस्यीय समन्वय समितिसमेत गठन छ।
रावाखोलामा रावा इनर्जी डेभलभमेन्ट कम्पनी लिमिटेड, हलेसी ऊर्जा कम्पनी लिमिटेड र लोवर मीड रावाखोला हाइड्रोइलोक्ट्रिक प्रोजेक्टले तीन वटा ठाउँमा जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।
स्थानीयले रावाखोलामा जलविद्युत् आयोजना सञ्चालन गर्ने तीन वटा जलविद्युत् कम्पनीबाट मुआब्जा नपाएको गुनासो गर्दै आएका छन् ।उनीहरुले जलविद्युत् आयोजनाको ट्रान्समिसन र पाइपलाइन विस्तारका क्रममा प्रयोग गरिएको जग्गाको मुआब्जा तथा क्षतिपूर्ति नपाएपछि चरणवद्ध आन्दोलन शुरु गरेका हुन् ।