अरुण जलविद्युत् आयोजना चाँडो निर्माण गरेर फाइदा लिन आवश्यक : ऊर्जामन्त्री
Last updated at 07:20 am
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले अरुण नदीमा बन्ने जलविद्युत् आयोजनाहरु चाँडो निर्माण गरी फाइदा लिन आवश्यक रहेको बताएका छन् ।
अरुण नदीमा निर्माण हुने माथिल्लो अरुण र अरुण चौथो जलविद्युत् आयोजनाबारे सोमबार मन्त्रालयमा आयोजित छलफलमा उनले यस्तो बताएका हुन् ।
साथै उनले लामो समय जलविद्युत् आयोजना नबन्दा राज्यले ठूलो क्षति बेहोर्नुपरेको भन्दै माथिल्लो अरुण, अरुण चौथोलगायतका आयोजनालाई समयमै सम्पन्न गरेर मुलुकले अत्यधिक फाइदा लिनुपर्ने बताए ।
ऊर्जामन्त्री खड्काले लगानी सुरक्षित हुने र मुलुकलाई अत्यधिक फाइदा हुनेगरी काम सम्पन्न गर्नुपर्ने उल्लेख गरे । उनले आयोजना निर्माण हुँदा हजारौं व्यक्तिले रोजगारी पाउनुका साथै मुलुकको आर्थिक विकास हुने भएकाले आयोजना निर्माणलाई उच्च प्राथमिकता दिनुपर्ने पनि बताए ।
छलफलमा सहभागीले दुवै आयोजनाबाट मुलुकले कसरी अधिकतम फाइदा लिन सकिन्छ त्यसतर्फ लाग्नुपर्ने बताए । यस सम्बन्धमा अध्ययन गरी निष्कर्षमा पुग्नका लागि एक प्राविधिक समिति गठन गरिने भएको छ ।
माथिल्लो अरुण १ हजार मेगावाटको आयोजना हो भने अरुण–४ भने ४९० मेगावाटको अर्को आयोजना हो ।यो आयोजना नदी प्रवाहमा आधारित(आरओआर) मा निर्माण गर्ने लक्ष्य छ ।