२१.९३ मेवा क्षमताको काबेली–३ बाट विद्युत् उत्पादन चैत पहिलो सातादेखि
Last updated at 08:00 am
ताप्लेजुङ जिल्लामा निर्माणाधीन २१ दशमलव ९३ मेगावाट(मेवा) क्षमताको काबेली–३ जलविद्युत् परियोजनाबाट विद्युत् उत्पादन चैत पहिलो सातादेखि शुरु गर्ने तयारी छ।
सिरिजंघा गाउँपालिकामा उत्पादन गर्न लागिएको परियोजना निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।
भौतिक संरचना निर्माणको काम सकिइसकेको आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुंगानाले बताए । यसको निर्माण काबेली हाइड्रोपावर कम्पनीले गर्दै आएको छ ।
काबेली–३ बाहेक यस क्षेत्रमा मात्र गत मंसिरबाट विद्युत् उत्पादन शुरु भएको १३.५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ र भर्खरै उत्पादन भएको १२ मेगावाट क्षमताको सुपर काबेलीसमेत जलविद्युत् आयोजनाको संख्या तीन पुगेको छ ।
चैत मसान्तभित्र सम्पन्न गर्ने गरी विसं २०७९ माघदेखि काम शुरु गरिएको थियो । सिरिजंघा–५ पेदाङ, वडा ६ मामाङखे र वडा ७ खेबाङमा आयोजनास्थल छ । मामाङ्खे र खेबाङको सिमाना भएर बहने ओथम्मा गहिरी मुहानदेखि ५.१२८ किलोमिटर सुरुङमार्फत विद्युत् गृहमा पुर्याइएको छ ।
यहाँ उत्पादित बिजुली पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको नेपाल विद्युत् प्राधिकरणको १३२ केभीए अमरपुर सबस्टेसनमा जडान गरिनेछ । आयोजनाको कुल लागत ४ अर्ब २८ करोड ५० लाख रुपैयाँ छ ।आयोजनामा एनएमबि, प्रभु र नबिल बैंकको साझेदारी छ ।