मौद्रिक नीतिले विद्युतीय सवारी साधनमा नकारात्मक प्रभाव पर्छ : नाडा
Last updated at 07:23 am
नाडा अटोमोबाइल्स एशेसिएशन अफ नेपालले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमा घटाउँदा व्यवसायीहरूलाई ठूलो मर्का परेको बताएको छ ।
नाडाले बिहीबार आफ्नो धारणा सार्वजनिक गर्दै राष्ट्र बैंकको नीतिका कारण विद्युतीय सवारी साधनको प्रयोगमा निश्चित रूपमा कमी आउने पनि बताएको छ ।
केन्द्रीय बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको गर्दै व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनहरुको ऋण मूल्य अनुपातको सीमा ६० प्रतिशत कायम गरेको छ। यसअघि विद्युतीय व्यक्तिगतमा ऋण मूल्य अनुपात ८० र विद्युतीय सार्वजनिक सवारी साधनको हकमा शतप्रतिशत थियो ।
‘विद्युतीय सवारी साधनको सम्बन्धमा पनि सोही व्यवस्था गरिँदा विद्युतीय सवारी साधन व्यवसायीहरूलाई भने ठूलो मर्का पर्ने अवस्था सिर्जना भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
नीतिगत रूपमै ग्रीन इनर्जीलाई उच्च प्राथमिकता दिने निर्णय गरी सरकारल विद्युतीय सवारी साधनलाई विशेष सुविधा दिँदै आएकोमा राष्ट्र बैंकको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले उपेक्षा गरेको पनि उसले बताएको छ ।