वर्कशायर हाथवेको सीईओबाट राजीनामा दिने योजनामा वारेन बफेट
Last updated at 10:37 am
अमेरकी अर्बपति लगानीकर्ता वारेन बफेटले यस वर्षको अन्त्यसम्ममा वर्कशायर हाथवेको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदबाट राजीनामा दिने घोषणा गरेका छन्। ९४ वर्षीय बफेटले आफ्नो कम्पनीको वार्षिक बैठकमा उपाध्यक्ष ग्रेग एबेललाई कम्पनीको बागडोर सुम्पने घोषणा गरेका हुन् ।
उनले भने, ‘मलाई लाग्छ वर्षको अन्त्यमा ग्रेग कम्पनीको सीईओ बन्ने समय आएको छ।’
उनले वर्कशायर ह्याथवेलाई एक समयको असफल कपडा कम्पनीबाट एक प्रमुख लगानी कम्पनीमा रूपान्तरण गरेका थिए ।उक्त कम्पनीको अहिले करिब १ दशमलव १६ ट्रिलियन डलर मूल्य छ। उनी विश्वकै सबैभन्दा सफल लगानीकर्ता पनि हुन् ।
वर्कशायर हाथवेसँग ६० भन्दा बढी कम्पनीहरू छन्, जसमा बीमा कम्पनी गेको, ब्याट्री निर्माता ड्युरासेल र डेयरी क्वीन जस्ता धेरै रेस्टुरेन्टहरू समावेश छन्।त्यस्तै, कम्पनीसँग एप्पल, कोकाकोला, बैंक अफ अमेरिका र अमेरिकन एक्प्रेस जस्ता ठूला कम्पनीहरूमा ठूलो लगानी पनि छ।
समाचार एजेन्सी ब्लूमबर्गका अनुसार, गत महिनासम्ममा वारेन बफेट १५४ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वको चौथो धनी व्यक्ति थिए।
एप्पलका सीईओ टिम कुकले पनि बफेटको अवकाशको बारेमा एक्समा पोस्ट गरेका छन्। ‘वारेन जस्तो कोही छैन र म उनको बुद्धिमत्ताबाट गहिरो रूपमा प्रेरित भएका अनगिन्ती व्यक्तिहरू मध्ये एक हुँ’, उनले भनेका छन्। एजेन्सीहरु