अमेरिकी ट्यारिफका कारण विश्व व्यापार ०.२% ले घट्न सक्छ : डब्लूटीओ
Last updated at 02:00 pm
विश्व व्यापार संगठन(डब्लूटीओ) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको ट्यारिफका कारण यो वर्ष विश्व व्यापारमा कमी आउने प्रक्षेपण गरेको छ ।
डब्लूटीओले पारस्परिक कर र राजनीतिक अनिश्चितता जस्ता ठूला समस्याहरू बढेको खण्डमा विश्वव्यापी वस्तुको व्यापार अझ घट्न सक्ने पनि बताएको छ।
यो गिरावट विशेष गरी उत्तरअमेरिकामा गम्भीर हुने डब्लूटीओको ठम्याइ छ । जहाँ व्यापार दशौं हिस्साभन्दा बढीले घट्ने अपेक्षा गरिएको छ।
डब्ल्यूटीओका महानिर्देशक न्गोजी इकोन्जो इवेलाले अमेरिका र चीन बीचको व्यापारिक युद्धको हालको अवस्था चिन्ताजनक विषय भएको बताएका छन् ।
डब्लूटीओले यसअघि सन् २०२५ मा विश्वव्यापी वस्तुको व्यापार २ दशमलव ७ प्रतिशतले बढ्ने अनुमान गरेको थियो तर अहिले शून्य दशमलव २ प्रतिशतले घट्ने अनुमान गरेको छ ।
हालैका दिनमा चीनले अमेरिकाबाट आउने सामानमा लगाएको १२५ प्रतिशत ट्यारिफ अर्थात् अतिरिक्त भन्सार महसुलको जवाफमा अमेरिकाले उल्टै २४५ प्रतिशत ट्यारिफ लगाएको छ । अमेरिका विरुद्धको प्रतिशोधात्मक कारबाहीका कारण चीनले अब २४५ प्रतिशतसम्मको भन्सार शुल्कको सामना गर्नुपर्नेछ ।
बुधबार नै संयुक्त राष्ट्रसंघको व्यापार तथा विकास निकायले आफ्नो प्रतिवेदनमा बढ्दो व्यापार तनाव र अनिश्चितताका कारण सन् २०२५ मा विश्वव्यापी वृद्धि २ दशमलव ३ प्रतिशतमा झर्ने पूर्वानुमान गरेको छ।यस्तो प्रक्षेपणले विश्वव्यापी मन्दीको संकेतको रूपमा व्यापक रूपमा हेरिने २ दशमलव ५ प्रतिशत थ्रेसहोल्ड भन्दा कम रहने संकेत गर्दछ।
डब्लूटीओले अमेरिकासँगको व्यापारमा गिरावट आउने भविष्यवाणीको बावजुद केही क्षेत्रहरूमा अझै पनि व्यापार वृद्धि हुने अपेक्षा गरेको छ।
यसले एशिया र यूरोपले यस वर्ष निर्यात र आयात दुवैमा सामान्य वृद्धि हुने अनुमान गरेको छ। यतिमात्र नभएर केन्द्रीय बैंक फेडरल रिजर्भले पनि राष्ट्रपति डोनल्ड ट्रम्पले शुरु गरेको ट्यारिफ युद्धले अमेरिकाको आर्थिक वृद्धिदरमा धक्का दिने र महँगी बढ्ने चेतावनी दिएका छन् ।
बाहिरबाट आउने सामानमा भन्सारमा ट्रम्पले हालै लगाएका अतिरिक्त महसुल आफूले अपेक्षा गरेको भन्दा धेरै भएको उसको भनाइ छ ।
ट्रम्पले ट्यारिफको घोषणा गरेयता यसले अमेरिका र विश्व अर्थतन्त्रमा पर्ने प्रभाव अनि अमेरिका र चीनबिच व्यापार युद्ध भड्किने भय बीच विश्व शेयर बजार तल झरिरहेको छ ।अर्थशास्त्रीहरूले ट्यारिफले महँगी बढाएर अमेरिकी अर्थतन्त्र नै मन्दीमा भासिने चेतावनी दिइरहँदा ट्रम्पले चाँहि आफ्नो यस कदमले अमेरिकामा उत्पादन बढाउने, रोजगारी बढ्ने दाबी गरिरहेका छन् ।बीबीसी