५ वर्षपछि पुनः नेपाल उडान गर्ने योजनामा स्पाइस जेट,दिल्ली पुग्न १७ हजार
Last updated at 07:36 pm
भारतको निजी क्षेत्रद्वारा सञ्चालित अन्तरराष्ट्रिय वायुसेवा कम्पनी स्पाइस जेटले पाँच वर्षपछि पुनः नेपाल उडान गर्ने योजना बनाएको छ ।
सस्तो भाडा दरमा उडान गर्ने कम्पनीको रुपमा परिचचित स्पाइस जेटले बैशाख २७ गते अर्थात् मे १० देखि नेपालमा दैनिक एक उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।स्पाइस जेटको नेपालका लागि ‘जनरल सेल्स एजेन्ट’ (जीएसए) मा हिमालयन ग्लोबल ट्राभल सर्भिसेस प्रालि नियुक्त भइसकेको छ ।
कम्पनीले आगामी वैशाख २७ देखि भारतको नयाँदिल्लीबाट दैनिक एक उडान गर्ने छ,’ जीएसए हिमालयन ग्लोबलकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) संगिता रौनियारले निकट भविष्यमा दैनिक दुई उडान गर्ने योजना रहेको बताइन्।
उनका अनुसार कम्पनीले दिल्लीबाट काठमाडौंका लागि १८९ सिट क्षमतायुक्त ‘बोइङ ७३७’ जहाज प्रयोग गर्ने छ । यसका सबै सिट इकोनोमी क्लास हुन् ।कम्पनीले प्रत्येक बिहान ९ः५५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र यहाँबाट १०ः५५ बजे दिल्ली फर्किने तालिका बनाएको छ ।
स्पाइस जेटबाट काठमाडौं–दिल्ली उडान गर्न प्रतियात्रु भाडा दर १७ हजार रुपैयाँ तोकिएको छ ।यसअघि पनि लामो समय नेपाल उडान गरेको स्पाइस जेटले कारोना महामारीपछि नेपला उडान बन्द गरेको थियो ।कम्पनीले हाल ९७ थान जहाजबाट विश्वभरका ९३ गन्तव्यमा उडान गर्दै आएको छ ।