१० मिनेट मै फुल चार्ज हुने बीवाईडीको चार्जिङ प्रणाली सार्वजनिक
Last updated at 11:41 am
चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बीवाईडीले नयाँ चार्जिङ सिस्टम ल्याएको छ । यो चार्जिङ सिस्टमबाट अब विद्युतीय कारमा पेट्रोल भरे झै छिटो चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।
जसअनुसार,अब गाडी फुल चार्ज हुने १० मिनेट पनि नलाग्ने भएको छ । हालै मात्र कम्पनीले नयाँ अल्ट्रा फास्ट चार्जिङ प्रणाली सार्वजनिक गरेको छ ।जसले पाँचदेखि आठ मिनेटमै गाडी फुल चार्ज हुने कम्पनीको दाबी छ ।
चीनको सबैभन्दा ठूलो एवं विश्वकै दोस्रो ठूलो विद्युतीय सवारी निर्माता बीवाईडीले चीनभर यस्ता चार हजार चार्जिङ स्टेसन विस्तार गर्ने बताएको छ ।
बीवाईडीको मुख्यालय सेन्झेनबाट प्रत्यक्षप्रसारण गरिएको कार्यक्रममा कम्पनीका संस्थापक वाङ चुआनफूले पाँच मिनेटको चार्जमा गाडीले ४०० किलोमिटर गुड्ने बताए ।
वाङले विश्वकै ठूलो ईभी निर्माता अमेरिकी कम्पनी टेस्लाका मालिक एलन मस्कलाई चीनमा टक्कर दिएको मानिन्छ ।यो चार्जिङ सिस्टम ५०० किलोवाट क्षमताको टेस्लाको सुपरचार्जरभन्दा दोब्बर क्षमताको हो ।विश्वभर ईभीको प्रयोग बढाउन फास्ट चार्जिङ प्रविधिलाई महत्वपूर्ण मानिएको छ ।
कम्पनीको प्रणालीले १ हजार किलोवाटको चार्जिङ गति प्रदान गर्दछ भने यो टेस्लाको सुपरचार्जर भन्दा दुई गुणा छिटो हुनेछ। टेस्लाको पछिल्लो संस्करणले ५०० किलोवाटसम्मको चार्जिङ गति दिन्छ। फास्ट चार्जिङ टेक्नोलोजीलाई विद्युतीय कारहरू थप लोकप्रिय हुने ठानिएको छ ।एजेन्सीहरु