चीन, क्यानडा र मेक्सिकोसँग अमेरिकाले शुरु गर्यो व्यापार युद्ध
Last updated at 08:50 am
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, क्यानडा र मेक्सिकोका सबै उत्पादनमा मंगलबारदेखि लागू हुनेगरी भन्सार महसुल लगाएर व्यापार युद्ध शुरु गरेका छन्।
उनले क्यानडा र मेक्सिकोको सबै उत्पादनमा मंगलबार मध्य रातिदेखि लागू हुनेगरी २५ प्रतिशत भन्सार महसुल लगाएका छन् । त्यसैगरी, चीनको उत्पादनमा पनि मंगलबारदेखि नै लागू हुनेगरी १० प्रतिशत थप भन्सार महसुल लागू भएको छ।त्यसो त चीन र क्यानडाले त्यसको जबाफमा अमेरिकी उत्पादनमा भन्सार लगाएका छन्। मेक्सिकोले पनि प्रतिकारमा त्यस्तै कदम चालेको छ। यसरी ट्रम्पले कार्यभार सम्हालेको ६ हप्ता पनि नबित्दै चीन, क्यानडा र मेक्सिकोसँग व्यापार युद्ध शुरू गरेका छन्।
यसअघि पनि उनले फेब्रुअरी ४ देखि लागू हुनेगरी चीनबाट आउने वस्तुमा १० प्रतिशत थप भन्सार महसुल लगाएका थिए। वर्षेनी दसौं हजार अमेरिकीको ज्यान लिने फेन्टनिल बनाउन चाहिने कच्चा रसायन लागुपदार्थको पैठारी गर्ने गिरोहलाई चीनले बेचेको आरोप लगाएर एक महिनाअघि थप १० प्रतिशत भन्सार लगाएका थिए।दुई पटकको जोडेर ट्रम्पले चीनबाट आउने वस्तुमा २० प्रतिशत भन्सार बढाएका हुन्।
उनले मंगलबारदेखि लागू हुने गरी १० प्रतिशत थप भन्सार महसुल लगाएपछि चीनले पनि जबाफी कदम चालिसकेको छ।चीनले मार्च १० देखि लागू हुनेगरी लगभग २१ अर्ब डलर मूल्यका अमेरिकी कृषि र खाद्य उत्पादनहरूमा भन्सार बढाउने घोषणा गरेको छ ।
चीनको परराष्ट्र मन्त्रालयले मंगलबार एक पत्रकार सम्मेलन आयोजना गर्दै चीन कहिल्यै पनि दादागिरी वा जबर्जस्तीसामु नझुक्ने बताइसकेको छ।
चीनले अमेरिकी कुखुरा, गहुँ, मकै र कपासमा थप १५ प्रतिशत भन्सार लगाएको छ। त्यस्तै अमेरिकी भटमास, जुनेलो, सुँगुरको मासु, गाईको मासु, फलफूल,तरकारी तथा दुग्ध आयातमा थप १० प्रतिशत भन्सार लगाउने उसको योजना छ।
ट्रम्पले क्यानडाका सबै उत्पादनमा २५ प्रतिशत भन्सार महसुल लगाउने भएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि चरणबद्ध रूपमा झन्डै एक खर्ब डलर मूल्यका अमेरिकी उत्पादनमा भन्सार लगाउने बताइसकेका छन्।
क्यानडाले अमेरिकाबाट आयातित सामानहरूमा दुई चरणमा २५ प्रतिशत शुल्क लगाउने योजना बनाएको छ। पहिलो चरणमा तत्कालै ट्रम्पको रिपब्लिकन पार्टीको पकड भएका राज्यहरूमा उत्पादित २० अर्ब डलर मूल्यका रक्सी, लुगा र घरायसी उपकरणहरूलाई लक्षित गरिने छ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शानबामले पनि मंगलबार नै जबाफी कदम थाल्ने बताइसकेकी छन् ।एजेन्सीको सहयोगमा