नेपाल धितोपत्र बोर्ड ३८ दिनदेखि ठप्प, नेप्से भने खुल्यो
Last updated at 01:21 pm
मुलुकको पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डको कामकाज विगत एक महिनादेखि ठप्प अवस्थामा रहेको छ । बोर्डका कर्मचारीहरु विगत ३८ दिनदेखि विभिन्न माग राखेर आन्दोलनमा छन् ।
उनीहरिुले गत असोज ७ गतेदेखि बोर्डका सबै काम ठप्प पारेका छन् । तरपनि सरकारले समस्या समाधानमा कुनै पहल गरेको छैन । बोर्डमा अहिले हकप्रद शेयर, आईपीओ आवेदन, बोनस शेयर दर्तासहितका काम ठप्प छन् ।
नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले आफ्ना मागहरु जबसम्म सरकारले सुन्दैन तबसम्म काम ठप्प हुन्छ। सञ्चालक समितिले समेत कर्मचारीको माग सम्बोधनका लागि कुनै पहल नगरेको कर्मचारीको भनाइ छ । बोर्डमा रहेका दुई संगठन कर्मचारी युनियन र स्वतन्त्र कर्मचारी संगठनले संयूक्त रुपमा आन्दोलन गरेका हुन् ।
त्यसो त बोर्डका कर्मचारीलाई सरकारविरुद्ध मुद्दा दायर गरेर कानूनी बाटोबाट समाधान खोज्न सञ्चालक समितिले सुझाव दिएको छ ।यसअघि गत असोज २ गते अर्थ मन्त्रालयले धितोपत्र बोर्डसँग सम्बन्धित दुई वटा कर्मचारी कोष खारेज गर्ने निर्णय गरेको थियो। हाल बोर्डमा दुई कोष सञ्चालनमा छन् । त्यो हो कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष ।
यी दुवै कोषलाई खारेज गर्न मन्त्रालयले बोर्ड सञ्चालक समितिलाई निर्देशन दिएको छ । यी कोष खारेज भएपछि कर्मचारीले यसअघि खाईपाई आएको थप रकम कटौती हुन जान्छ ।यसैको विरोधमा उनीहरुको आन्दोलन कायम छ ।
नेप्सेमा कर्मचारीको आन्दोलन स्थगित
उता बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का कर्मचारीहरूले गत असोज ७ गतेदेखि शुरु गरेको आन्दोलन स्थगित भएको छ ।
नेप्सेका कर्मचारीहरूले ५ प्रतिशत बोनस शेयर वितरणका लागि व्यवस्थापनले अस्वीकार गरेसँगै प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईं र नवनियुक्त अध्यक्ष हेमन्त बस्यालको राजीनामा माग गर्दै आन्दोलन शुरु गरेका थिए ।
नेप्से कर्मचारी संगठन र व्यवस्थापन पक्षबीच बुधबारर भएको छलफलमा आन्दोलन स्थगित गर्ने निर्णय भएको थियो । आन्दोलन शुरु भएपछि कार्यालय आउन नसकेका नेप्सेका प्रमुख कार्यकारी अधिकृत चापागाईं बुधबार नै कार्यालयमा हाजिर भएका थिए । कर्मचारीहरूको माग र थप सेवा सुविधाका सम्बन्धमा एक साताभित्र ठोस कार्ययोजना पेश गर्ने मौखिक सहमति भएको छ ।
कर्मचारी आन्दोलन लामो समय जारी रहँदा नेप्सेमा धितोपत्र सूचीकरणको काम प्रभावित बनेको थियो ।नेस्सेका प्रमुख कार्यकारी अधिकृत हाजिर भएसँगै रोकिएका काम शुरु भइसकेको छ ।
