सर्वसाधारणका लागि एसवाई प्यानलको आईपीओ कात्तिक १९ गतेदेखि निष्कासनमा
Last updated at 11:00 am
एसवाई प्यानल नेपाल लिमिटेडले आगामी कात्तिक १९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
जसमा कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँबराबरको ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्कासन गर्न लागेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ।
यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ।
