आईपीओ निष्कासन गर्ने तयारीमा फोनपे, बोलायो साधारणसभा
Last updated at 12:25 pm
फोनपे पेमेण्ट सर्भिस लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
गत कात्तिक २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित कात्तिक २४ गते छैटौं वार्षिक साधारण सभा बोलाएको हो । सभा नक्साल, काठमाडौंमा साझ ५ बजे हुने छ ।
आईपीओ निष्कासन गर्ने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि कम्पनीले गरेको छ । हाल कायम संस्थापक शेयरधनीहरुका लागि कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट करसमेत १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गदैं चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय सभाले टुङग्याउनेछ । साथै स्वतन्त्र सञ्चालक नियुक्ती समेत सभाले गर्नेछ ।
फोनपे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालकै सबैभन्दा ठुला भुक्तानी प्रदायक कम्पनी हो । यो कम्पनीले बैंक तथा वित्तीय संस्थाहरु, डिजिटल वालेट, उपभोत्ताहरु र व्यापारिहरुलाई आफ्नो अन्तरसञ्चालित सञ्जालमार्फत जोड्ने गर्दछ ।
कम्पनीले सञ्चालन गरेको सञ्जालमार्फत नेपालभर ६० भन्दा बढी साझेदारहरु, २ करोडभन्दा बढी दर्ता भएका ग्राहकहरु र १७ लाखभन्दा बढी व्यापारिहरु जोडिएका छन् । फोनपे क्युआर भुक्तानीका लागि विश्वव्यापी रुपमा स्वीकृत छ ।
हाल कम्पनीको चुक्तापूँजी ५१ करोड रुपैयाँ छ।कम्पनीले हालको चुक्तापूँजीको २० प्रतिशत सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने योजना बनाएको छ ।
