सुमेरु पोलिमर्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
Last updated at 10:41 am
सुमेरु पोलिमर्स लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
जसअन्तर्गत कम्पनीले कुल ६ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने छ। आईपीओ निष्कासनसम्बन्धी सम्झौतामा हालैमात्र काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा सुमेरु पोलिमर्स लिमिटेडका प्रबन्ध सञ्चालक दिवस घिमिरे र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका हुन्।
कम्पनीले हालसम्म निर्माण क्षेत्रमा प्रयोग हुने विभिन्न पाइप तथा फिटिङ्ग उत्पादित गर्दै आएको छ। कम्पनीले विशेषगरी पीभीसी पाइप तथा फिटिङ्ग्स, एचडिपिई पाइप, र सिपिभिसी पाइप तथा फिटिङ्ग्सको उत्पादन गर्दै आएको छ। यी उत्पादनहरू निर्माण, सिँचाइ र औद्योगिक प्रयोजनमा प्रयोग हुने प्रमुख सामग्री मानिन्छन्।
कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंको कुलेश्वरमा छ भने मूख्य कारखाना काभ्रेको पनौती नगरपालिका–९ मा करिब ११ रोपनी क्षेत्रफलमा स्थापना गरिएको छ। विसं २०७४ सालमा प्राइवेट लिमिटेड कम्पनीको रूपमा स्थापना भएको उक्त कम्पनीले हाल व्यवसायिक उत्पादनलाई विस्तार गर्दै आएको छ।
आईपीओ निष्कासनमार्फत कम्पनीले आम लगानीकर्तालाई आकर्षित गर्नुका साथै व्यवसाय विस्तारका लागि आवश्यक पूँजी संकलन गर्ने लक्ष्य राखेको बताएको छ।