धितोपत्र बोर्डले शेयर निष्कासन नगर्दा लगानीकर्ताले १ खर्ब ८ अर्ब गुमाए
Last updated at 02:25 pm
नेपाल धितोपत्र बोर्ड नेपालले प्राथमिक शेयर निष्कासन गर्न ढिलाइ गर्दा ऊर्जा क्षेत्रका लगानीकर्ताले मात्र १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ गुमाएको एक अध्ययनले देखाएको छ ।
गत जेठ २०८० पछि आईपीओ र हकप्रद शेयर निष्कासनमा ढिलाइ गर्दा ९७५ मेगावाट बराबरका आयोजना निर्माण गरिरहेका ४३ वटा आईपीओ र ७ वटा हकप्रद शेयर गरी ५० कम्पनीले निर्माण अघि बढाउन नसक्दा यति धेरै रकम गुमाउनु परेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) ले जनाएको छ ।
सो अध्ययनका आधारमा बिहीबार धितोपत्र बोर्डलाई पठाएको पत्रमा ५० कम्पनीको समयमै शेयर जारी नहुँदा २३ अर्ब २७ करोड ८ लाख बराबरको निष्कासन हुन नसकेको तथा समयमै जारी नभएको कारण १२ अर्ब ४० करोड ५४ लाखको ब्याज रकम बढेको, २४ अर्ब ३० करोड ६७ लाख लागत बढेको र ७१ अर्ब ७८ करोड ८१ लाख राजस्व आम्दानी गुमाउनु परेको उल्लेख छ ।
बोर्डले अध्यक्ष नियुक्ति नभएको तथा कुनै पनि कानूनमा नभएको शेयर निष्कासनका लागि ९० प्रतिशतभन्दा बढी नेटवर्थ हुनुपर्ने लगायत कारण देखाउँदै शेयर निष्कासनमा ढिलाइ गर्दै आएको छ । यस अवधिमा १० कम्पनीलाई मात्र आईपीओका लागि धितोपत्र बोर्डले अनुमति दिएको छ भने ११ कम्पनीलाई हकप्रद शेयरका लागि अनुमति दिएको छ ।