ओमस्टोन होटेल्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
Last updated at 03:17 pm
ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिसोर्ट) ले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । कम्पनीले निष्कासन गर्न लागेको आईपीओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
उक्त सम्झौतामा हालै कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक रमेश कुमार हमाल र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार सिटिजन्स क्यापिटलले उक्त कम्पनीको प्राथमिक शेयर सार्वजनिक निष्कासनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । सो अवसरमा कम्पनीको संस्थापकको तर्फबाट प्रमुख विदेशी लगानीकर्ता विष्णु मोरको उपस्थिती थियो ।
सन् २०२३ को चौथो त्रैमासिकदेखि सञ्चालनमा आएको दुसित थानी हिमालयन रिर्सोट काभ्रेपलाञ्चोकस्थित पात्लेखेत, धुलिखेलमा छ । हिमालय र उपत्यकाको मनोरम दृश्यहरू सहितको पहाडको शिरमा रहेको दुसित थानी हिमालयन रिर्सोट अन्तरास्ट्रिय ब्रान्डको संरचना र प्रविधि मापदण्डमा निर्मित छ ।
अन्तराष्ट्रिय आतिथ्य शृङ्खला ब्राण्ड दुसित थानीले नेपालसहित विभिन्न १८ वटा देशमा आतिथ्य सेवा प्रदान गर्दै आइरहेको बताएको छ । यो कम्पनीले सञ्चालनमा ल्याएको उक्त रिसोर्ट राजधानी काठमाडौंबाट करिब ३८ किलोमिटर दुरीमा अवस्थित छ ।