स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट, ५ जनाले पाए थप एक कित्ता
Last updated at 10:50 am
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बिहीबार बिहान बाँडफाँट भएको छ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
कम्पनीका अनुसार १९ हजार ५१९ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। यसरी बाँडपाँट गर्दा बाँकी रहेको पाँच कित्ता शेयर पनि वितरण गरिएको छ। जस अनुसार पाँच जनाले थप एक कित्ता अर्थात् कुल ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
कम्पनीले साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्कासन गरेको थियो।
सो आईपीओमा २४ लाख ४० हजार ४६० जनाले कुल २ करोड ७४ लाख ६४ हजार ५७० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २४ लाख ३६ हजार ३९३ आवेदन स्वीकृत भएको थियो भने २ हजार ३०० आवेदन रद्द भएको थियो।