नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्कासन गर्ने, नियुक्त गर्यो बिक्री प्रबन्धक
Last updated at 11:31 am
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले साधारण शेयर निष्कासन गर्नका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।
उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडका तर्फबाट अध्यक्ष डा मनिष थापाले हस्ताक्षर गरेका छन् ।
अब कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्ने बताएको छ ।उक्त कम्पनी नेपालको अग्रणी स्थायी पूँजी साधन लगानी संस्था हो । जसलाई ग्लोबल इक्विटी फण्डले व्यवस्थापन गर्दै आएको छ । ग्लोबल इक्विटी फण्ड नेपालको पहिलो नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्ड प्रबन्धक हो ।
कम्पनीले भौतिक पूर्वाधारको विकासको लागि स्वच्छ ऊर्जा, यातायात, विद्युतीय सवारी साधन, सौर्य, जलविद्युत, सूचना प्रविधि, कृषि र आतिथ्य जस्ता प्रमुख क्षेत्रहरुमा सञ्चालन हुने कम्पनीहरुमा पूँजी परिचालन गर्दै आएको छ ।
यस संस्थालाई नेपालका अग्रणी बीमा कम्पनीहरु हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रभु महालक्ष्मी इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्सका साथै व्यवसायी राजेन्द्र खेतान र बसन्त चौधरीले प्रवर्द्धन गरेका छन् ।