आईपीओ निष्कासन गर्दै सारथी केवल इन्डष्ट्रीज, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल निुक्त
Last updated at 09:34 am
सारथी केवल इन्डष्ट्रीज लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। जसका लागि कम्पनीले सिटिजन्स क्यापिटलसँग औपचारिक रूपमा आईपीओ व्यवस्थापन सम्झौता गरेको छ।
बुधबार होटल मेरियटमा आयोजित कार्यक्रममा सारथी केवलका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ भित्र आफ्नो जारी पूँजीको २० प्रतिशत सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ। यस आईपीओमार्फत एक सम्भावनायुक्त औद्योगिक क्षेत्रमा प्रत्यक्ष लगानी गर्न पाउने कम्पनीले बताएको छ।
कम्पनीले संकलित रकमको प्रयोग गर्दै नेपालमै पहिलोपटक भूमिगत केवल उत्पादन शुरु गर्न लागेको छ। यो परियोजना नेपाललाई विद्युतीय सामग्रीमा आत्मनिर्भर बनाउने दिशामा ऐतिहासिक कदम हुने बताइएको छ। अत्याधुनिक प्रविधिको प्रयोगद्वारा कम्पनीले प्रसारण तथा वितरण प्रणालीमा गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्ने लक्ष्य लिएको बताएको छ ।
सम्झौतापछि अध्यक्ष भुसालले भने, “यो सम्झौता नेपालको विद्युतीय पूर्वाधारलाई आधुनिकीकरणतर्फ अग्रसर गराउने हाम्रो अभियानमा महत्वपूर्ण मोड हो। हामीले राष्ट्रिय आवश्यकता पूरा गर्न आन्तरिक समाधान उपलब्ध गराउने ऐतिहासिक प्रयास थालेका छौं।”
त्यस्तै, सिटिजन्स क्यापिटलका सीईओ श्रेष्ठले भने, “सारथीसँगको सहकार्य गर्न पाउनु गौरवको विषय हो।” विसं २०६५ सालदेखि सञ्चालनमा रहेको उक्त कम्पनी हाल नेपालकै अग्रणी तार तथा केवल उत्पादकमध्ये एक हो।