हिमालयन बैंकको एफपीओमा आवेदन खुला
Last updated at 10:28 am
हिमालयन बैंकले सर्वसाधारणका लागि आज अर्थात् बुधबारदेखि थप सार्वजनिक शेयर (एफपीओ) निष्कासन खुला गरेको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुरुप कम्पनीले सर्वसाधारण समूहमा शेयर हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्दैछ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्तले सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत शेयर निष्कासन गर्नैपर्ने व्यवस्था छ ।
हाल सर्वसाधारण समूहमा उक्त कम्पनीको शेयर हिस्सा जम्मा २७ प्रतिशत छ । अंकित मूल्य १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता १५७ रुपैयाँका दरले कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीको धितोपत्र निकासन तथा बिक्री प्रवन्धकमा सिटिजन्स क्यापिटल छ ।एफपीओमा साउन ४ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको शेयरमा न्यूनतम १० तथा अधिकतम पूरै शेयरका लागि आवेदन दिन सकिने छ । कम्पनीले एफपीओका लागि गराएको रेटिङमा केयर रेटिङ बीबीबी पाएको छ ।
हाल दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २३४ रुपैयाँ छ । हाल कम्पनीको कुल चुक्तापूँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ ।