नेपाल इन्फ्रास्ट्रक्चर बैंकको हरित ऊर्जा ऋणपत्र आजदेखि निष्कासनमा
Last updated at 10:05 am
नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) ले आज अर्थात् जेठ १८ गतेदेखि ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले सात वर्षे अवधिको वार्षिक ६ प्रतिशत ब्याजदरमा ‘निफ्रा हरित ऊर्जा ऋणपत्र ६ प्रतिशत २०८८/०८९’ निष्कासन गरेको हो ।
कम्पनीले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले १९ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन्। सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ।
सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल छ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ।