ट्रेड टावरको आईपीओ आजदेखि निष्कासनमा
Last updated at 06:52 am
ट्रेड टावर लिमिटेडले आज अर्थात् बुधबारबाट आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो।
कम्पनीले सर्वसाधारण समूहको कुल ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर जारी गर्न लागेको हो । जसमध्ये वैदेशिक रोजगारमा रहेकालाई १० प्रतिशत, सामुहिक लगानी कोषलाई ५ र कर्मचारीलाई २ प्रतिशत छुट्याएपछि बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ। इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले हाउजिङ तथा होटलसम्बन्धी प्रोजेक्ट सञ्चालन गर्दै आएको छ ।आईपीओबाट संकलन भएको रकम बैंकको ऋण र ब्याज भुक्तानीमा ३० करोड रुपैयाँ प्रयोग हुने कम्पनीले स्पष्ट पारेको छ । बाँकी ९ करोड रुपैयाँ होटल क्रिस्टलको क्षमता वृद्धिमा खर्चिने कम्पनीले जनाएको छ ।