अडलट शेयर खरिदबिक्रीलाई सहज बनाउने नेप्सेको तयारी
Last updated at 10:41 am
बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले अड लट कारोबारलाई सहज तुल्याउन नियामकीय व्यवस्था गर्न लागेको छ।
जसका कारण अवदेखि एक कितादेखि नौ कित्तासम्मको शेयर खरिदबिक्री गर्न सहज हुनेछ ।तर टीएमएसमा अडलट कारोबार गर्न सक्ने फिचर भएता पनि अडलट शेयर किनबेच गर्न सहज छैन। शेयर खरिद गर्ने र बिक्री गर्न दुवै पक्का भएपछि मात्रै अडलट शेयर कारोबार हुन्छ। अडलट कारोबार भनेको १० कित्ताभन्दा मुनिको शेयर खरिदबिक्री हो।
नियमित सेसनमा १० कित्ता भन्दा बढी कारोबार हुन्छ भने अडलटमा भने १० कित्ता मुनिको कारोबार हुन्छ ।अहिले अड लट कारोबार नहुने होइन तर त्यस्तो कारोबारको आदेश टीएमएसमा देखिँदैन । आदेश नदेखिने भएकाले शेयर कारोबार पनि संयोगले मात्रै हुने गर्दछ ।
यसअघि लगानीकर्ताले अडलट कारोबारलाई सहज हुने गरि व्यवस्था गर्न माग गर्दै आएका थिए ।यो व्यवस्था लागू भएमा धितोपत्र बजारमा अटलट शेयर कारोबारलाई सहज बनाउने र पोर्टफोलियो व्यवस्थित गर्न मद्दत पुर्याउने अपेक्षा छ।
अड लट कारोबारले सूचक र मूल्यमा कुनै असर नपार्ने पनि नेप्सेको भनाइ छ ।अहिले धितोपत्रको दोश्रो बजारमा एकदेखि नौ कित्तासम्मको शेयर खरिदबिक्री गर्न निक्कै सकस छ।
यदि लगानीकर्ताको डिम्याट खातामा एकदेखि नौ कित्तासम्म शेयर छ या बिक्री हुन नसकेर बसेको छ भने थप १० कित्ता शेयर खरिद गरेर एकमुष्ठ बिक्री गर्नुपर्ने बाध्यता छ । जसले गर्दा लगानीकर्ता दोहोरो, तेहेरो ब्रोकर कमिसन, डिम्याट शुल्क तिर्नुपर्ने बाध्यतामा छन् ।
कम्पनीहरूले दिने बोनस शेयर, हकप्रद शेयर तथा डिम्याटमा रहेको सबै शेयर बिक्री नहुँदा यस्तो अडलट शेयर संख्या बस्ने गर्छ ।यतिमात्र नभएर शेयर बिक्री गरिसकेपछि आउने विभिन्न कम्पनीले दिने बोनस शेयरका कारण अधिकांश लगानीकर्ताको डिम्याट खातामा एकदेखि नौ कित्ता जम्मा भएर बस्ने गर्दछ ।
वर्षौंदेखि कायम रहेको यस्तो समस्या अब भने छिट्टै समाधान हुने भएको छ । बजार सञ्चालक नेप्सेले यसबारे छिट्टै नै ९ट्रेड म्यानेजमेन्ट सिस्टम(टीएमएस) मा देखिने गरी एकदेखि नौ कित्तासम्मको शेयर अर्डर पोस्ट गर्न सकिने व्यवस्था गर्न लागेको बताएको छ । उसले यसबारेमा प्राविधिक टिमसँग छलफल भइरहेको पनि बताएको छ ।