साताको शेयर समीक्षा : लगानीकर्ता पर्ख र हेरको अवस्थामा
Last updated at 08:22 pm
यो साता धितोपत्र बजार १ दशमलव ८७ प्रतिशत अर्थात् करिब ५० अंकले घटेको छ ।गत साता २ हजार ६६१ अंकमा बन्द भएको बजार यो साता २ हजार ६११ अंकमा झरेको छ ।
यो साता चार दिन कारोबार भएको छ । कारोबार भएको चारै दिन बजार घटेको छ । सोमबार भने सार्वजनिक विदाका कारण बजार बन्द भयो । पहिलो दिन आइतबार १२ दशमलव ५३ अंक घटेको बजार मंगलबार १४ दशमलव ८७,अंकले घटेको थियो ।
यसैगरी, बुधबार १३ दशमलव ९६ अंकले घटेको बजार अन्तिम कारोबार दिन बिहीबार पनि ८ दशमलव ४१ अंकले घटेको थियो।
अघिल्लो साता भने बजार ३७ दशमलव ८१ अंकले बढेको थियो । यो साता ३५ अर्ब ६५ करोडको कारोबार भएको छ। अघिल्लो साता भने ४७ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
नेप्सेका अनुसार,यो साता बजार पूँजीकरण ४३ खर्ब ४४ अर्ब रुपैयाँ बराबर कायम छ । अघिल्लो साता भने धितापत्रको कुल बजार पूँजीकरण ४४ खर्ब २७ अर्ब रुपैयाँ बराबर थियो । यो साता नेप्से परिसूचक र कारोबार दुबै घटेकाले लगानीर्ताको सम्पत्ति ८३ अर्ब रुपैयाँ बराबर घटेको छ।
यस साता सेन्सेटिभ इण्डेक्स ८ दशमलव ८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३ दशमलव ३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ दशमलव ७५ अंक घटेको छ।
यो साता धेरै कारोबार हुनेमा हाइड्रोपावर कम्पनीहरु छन्। राधी विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको कारोबार यो साता धेरै भएको छ ।
बजार घट्दै जाँदा कारोबार रकम पनि खुम्चिँदै गएको देखिन्छ ।
यो साता होटल तथा पर्यटन समूह उल्लेख्य रुपमा बढेको छ । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै अर्थात् ७ दशमलव ३० प्रतिशतले बढेको छ । यसका साथै विकास बैंक समूह एक प्रतिशतले बढेको छ। अरु समूह भने यो साता घटेका छन् । वित्त समूह सबैभन्दा धेरै अर्थात् ६ प्रतिशतले घटेको छ ।
अघिकांश लगानीकर्ताले बजारमा गिरावट हुनुको मूख्य कारण गभर्नर नियुक्ति प्रक्रिया र कम्पनीहरूको तेस्रो त्रैमासिक वित्तीय विवरणलाई आधार मानेका छन्। सत्ता साझेदार दलबीच गभर्नर नियुक्तिका विषयमा विवाद कायमै छ।
यसै विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा पनि परेको छ । जसका कारण लामोसमयदेखि लगानीकर्ता सशंकित मात्र छैनन् निराश पनि छन् ।जसका कारण लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा छन् ।