नेरुडे मिर्मिरे लघुवित्तको नाफामा ७०.८०% ले कमी,यस्तो छ अन्य वित्तीय सूचक
Last updated at 09:37 am
नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण शुक्रबार प्रकाशित गरेको छ। जसअनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा घटेको छ।
समीक्षा अवधिमा कम्पनीले ५ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ७० दशमलव ८० प्रतिशतले कमी हो। गत आवकोसोही अवधिसम्ममा कम्पनीले १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
वित्तीय विवरणमा उल्लेख भएअनुसार सो अवधिमा कम्पनीको खराब कर्जा बढेर इम्पेरमेन्ट चार्ज बढेपछि खुद नाफा घट्न पुगेको देखिन्छ।समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ८ दशमलव ८३ प्रतिशतबाट बढेर १४ दशमलव ८१ प्रतिशत पुगेको छ। जसका कारण कम्पनीको इम्पेरमेन्ट चार्ज पनि १५ करोड ७० लाख रुपैयाँबाट बढेर ३२ करोड ९६ लाख रुपैयाँ पुगेको छ।
तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ५८ दशमलव ८२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३२ दशमलव ९९ प्रतिशतले बढेको छ। यसैगरी,कम्पनीको कुल सञ्चालन आम्दानी ४२ दशमलव २९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७० दशमलव ८१ प्रतिशतले गिरावट आएको छ।
कम्पनीले उक्त अवधिसम्ममा १७ अर्ब ४४ करोड ९६ लाख रुपैयाँ कर्जा तथा सापटी लिएर २० अर्ब १८ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ ६६ पैसा छ भने मूल्य आम्दानी अनुपात ११८ दशमलव ८६ गुणा छ।त्यसैगरी,कम्पनीको रिजर्भ कोषमा १ अर्ब २९ करोड ५१ लाख रुपैयाँ सञ्चित छ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ छ । साताको अन्तिम कारोबार दिन बुधबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ६३५ रुपैयाँ छ ।