सुप्रिम हेल्थ केयरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
Last updated at 09:05 pm
सुप्रिम हेल्थ केयर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी शुरु गरेको छ ।
कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले १२ लाख ५० हजार कित्ता साधारण शेयर सार्वजनिक निष्कासन गर्न लागेको हो ।यस प्रयोजनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
यस सम्बन्धमा सोमबार ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक विशेष कार्यक्रममा दुवै पक्षबीच सम्झौता सम्पन्न भएको छ ।
सो अवसरमा कम्पनीका कार्यकारी सञ्चालक मुकेश शर्मा र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
विसं २०६६ सालमा स्थापना भएको सुप्रिम हेल्थ केयर लिमिटेड विगत ६ वर्षदेखि निरन्तर नाफा कमाउँदै आएको कम्पनी हो । बारा जिल्लाको परवानीपुरमा रजिष्टर्ड कार्यालय रहेको उक्त कम्पनीको सम्पर्क कार्यालय काठमाडौंको गहनापोखरीमा छ ।
कम्पनीले ट्याब्लेट, क्याप्सुल, क्रीम, लोशन, सोलुसनजस्ता ८५ भन्दा बढी उत्पादनहरू ३५ उपचार वर्गमा बिक्री वितरण गर्दै आएको छ ।
औषधि उत्पादनसँगै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण तथा स्वास्थ्य साक्षरता कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । सार्वजनिक निष्कासनपछि पूँजी संरचना थप मजबुत बन्ने अपेक्षा गरिएको कम्पनीले बताएको छ ।