होटेल सारथीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त
Last updated at 08:46 pm
होटेल सारथीले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि सिटिजन्स क्यापिटललाई धितापत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कम्पनीको आईपीओ जारी गर्ने उद्देश्यले नियामकको स्वीकृति लिने प्रक्रिया थालनी गर्नको लागि जारी तथा निर्गमन प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
काभ्रेको धुलिखेलस्थित होटेल सारथीमा आयोजित समारोहमा कम्पनीका कार्यकारी अध्यक्ष प्रल्हादप्रसाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।उक्त अवसरमा कम्पनीका सञ्चालकहरु, महाप्रबन्धक, विभागीय प्रमुख र अन्य कर्मचारी तथा क्यापिटलको तर्फबाट मर्चेन्ट बैंकिङ्ग प्रमुख समिक्षा नेपाललगायत उपस्थित थिए ।
कम्पनीले निकट भविष्यमै पब्लिक कम्पनीमा रुपान्तरण भएर जारी पूँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर जारी गर्नेछ । आईपीओ जारीपश्चात कम्पनीको चुक्तापूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।
क्यापिटलले होटेल सारथीलाई प्रालिबाट पब्लिकमा रुपान्तरण गर्नसमेत सघाउने छ । यस सम्झौतासँगै कम्पनीले आर्थिक वर्ष २०८२र०८३ भित्र नेपालका पूँजी बजारमा सूचीकृत हुने बताएको छ । यसबाट नयाँ लगानीकर्ताले होटेल तथा पर्यटन क्षेत्रको कम्पनीमा लगानीका लागि नयाँ अवसर पाउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
कस्तो छ होटेल ?
२०७२ सालमा स्थापना भएको होटेल सारथी धुलिखेल – ८, रिसोर्ट मार्ग, काभ्रेपलाञ्चोकमा रहेको तीनतारे होटेल हो । निकट भविष्यमै चार तारेमा स्तरवृद्धि हुन लागेको छ । एउटा प्रेसिडेन्सीयल, ६ वटा सुइट, ५० वटा प्रिमियम डिलक्स, २३ वटा डिलक्स गरि ८० वटा कोठा सञ्चालनमा रहेका छन् । २० जनादेखि ४०० जनासम्मको क्षमता भएको ठूला/साना गरि ४ वटा सभा हल रहेको छ ।
होटेल भवनको सातौं तल्लामा ‘रुफटप इन्फिनिटी स्वीमिङ पुल विथ पुल बार’ रहेको छ । यहाँबाट लाङटाङ हिमश्रृंखला र गौरीशंकर हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । जाडोमा स्वीमिङ पुलको पानीलाई तताउने प्रबन्धसमेत मिलाईएको छ । स्पा र फिटनेस सेन्टरसमेत सञ्चालनमा छ ।
होटेललाई विवाह मण्डपको रुपमा विकास गरिएको छ । आगामी दिनमा होटेल सारथीले विवाहको लागि उत्कृष्ट स्थल बन्ने लक्ष्य बनाएको बताएको छ ।भारतका र मुलुककै विभिन्न शहरका नागरिकले होटललाई विवाहका लागि गन्तव्य बनाएका छन् । अन्तरराष्ट्रिय सभा सम्मेलन गोष्ठीका लागि पनि होटेल सारथी अग्रिम बुकिंग थलो बनेको छ ।
कम्पनीले शुरुआतदेखि नै पर्यावरणलाई ध्यानमा राख्दै फोहोर पानीको पुन : उपयोगलाई कार्यान्वयन गर्दै आएको छ । होटलबाट निष्कासित फोहोर पानीलाई होटल परिसरमै रहेको सिवरेज ट्रिटमेन्ट (एसटटी) प्लान्ट मार्फत ३३ हजार लिटर क्षमताको ट्यांकमा प्रशोधन गर्ने गरिएको छ । प्रशोधित पानी होटलकै स्वामित्वमा रहेको जग्गामा अर्गानिक खेतीमा उपयोग हुँदै आएको छ ।
होटलले उपलब्ध गराउने मेनुमा स्थानीयरूपमा उपलब्ध खाद्य सामग्रीलाई प्राथमिकता दिंदै आएको छ । हाल होटलमा प्रत्यक्षरुपमा रोजगारी पाएका ७३ जनामध्ये ९० प्रतिशतभन्दा बढी स्थानीय छन् ।
सारथी समूहअन्तर्गत होटेल सारथी प्रालि, सारथी मार्ट प्रालि, सारथी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, सारथी वेलफेयर फाउण्डेशन, हिमालय इन्टरनेसनल एकेडेमी, धुलिखेल तालिम सेवा केन्द्र प्रालि, सारथी भेन्चर्स प्रालि, सारथी एडभेन्चर्स प्रालि र सारथी होलिडेज छन् ।