एरो फर्मास्युटिकल्सको आईपीओ निष्कासन गर्ने योजना, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
Last updated at 04:53 pm
एरो फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने तयारी शुरु गरेको छ। जसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
सो सम्बन्धमा कम्पनी र क्यापिटल बीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ। गत चैत २८ गतेका दिन ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा कम्पनीको तर्फबाट सञ्चालक समितिका अध्यक्ष उद्धवप्रसाद मैनाली र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
कम्पनीले प्रतिशेयर अङ्कित मूल्य १०० रुपैयाँका दरले १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने योजना बनाएको छ। अधिकृत पूँजी १ अर्ब र जारी पूँजी ७५ करोड रुपैयाँ रहेको उक्त कम्पनीको कर्पोरेट अफिस काठमाडौं महानगरपालिका वडा नं ३ वसुन्धरामा छ भने भक्तपुरको सुडालमा औषधि उत्पादन गर्ने कारखाना छ ।
उक्त कम्पनीको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यवसायी, उद्योगी तथा खातीप्राप्त व्यक्तित्वहरूको लगानी छ । विभिन्न क्षेत्रका प्रतिष्ठत व्यक्तिहरूद्वारा प्रवर्द्धित उक्त कम्पनी आर्थिक वर्ष २०७१र०७२ मा प्रालिको रुपमा स्थापना भई आर्थिक वर्ष २०८०र०८१ मा पब्लिक लिमिटेड कम्पनीको रुपमा परिणत भएको हो ।
विगत ५ वर्षदेखि विभिन्न प्रकारका ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट, एक्स्टर्नल लिक्विड, ड्राइ सस्पेन्सन र पाउडर औषधिहरू उत्पादन तथा बिक्री वितरण गर्दै आएको उक्त कम्पनीका हाल १०७ वटा ब्रान्डका औषधिहरू बजारमा छन् । कम्पनीले विशेष रुपमा उच्च रक्तचाप,मधुमेहमा प्रयोग हुने, यान्टिबायोटिक लगायतका गुणस्तरीय औषधिहरूको उत्पादन गर्दछ ।
कम्पनीले आफ्नो बजार विस्तारको क्रममा यसै आर्थिक वर्षदेखि जनावरमा प्रयोग हुने भेटेरिनरी औषधिहरूको पनि उत्पादन शुरु गरेको बताएको छ ।कम्पनीले आईपीओ निष्कासन पश्चात् उद्योगको क्षमता अभिवृद्धि गरी बजारको माग बमोजिम थप औषधिहरू उत्पादन गर्ने लक्ष्य लिएको पनि बताएको छ।