नेप्सेमा सीईओको पद बहाली, ‘विदेशी साझेदार भित्र्याउन र प्रविधि स्तरोन्नति गर्न पहल गर्छु’
Last updated at 06:59 am
बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले अन्तत : प्रमुख कार्यकारी अधिकृत(सीईओ) पाएको छ ।
सरकारले लामो समयपछि सीईओमा चुडामणि चापागाईलाई नियुक्त गरेको छ। मंगलबार अर्थ मन्त्रालय गएर नियुक्ति पत्र बुझेका उनले मंगलबार नै नेप्सेमा गएर पद बहाली पनि गरेका छ्न्।
पदबहाली गर्दै उनले नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याउन पहल गर्ने बताए ।साथै उनले विदेशी रणनीतिक साझेदार भित्र्याउँदा प्राविधिक रुपमा समेत नेप्सेलाई सक्षम गराउन मद्दत पुग्ने पनि बताए ।
उनले आफ्नो कार्यकालमा हालको प्रविधिलाई स्तरोन्नति गर्ने कार्यलाई प्राथमिकता दिने पनि बताए ।नेप्से पुनरसंरचनाको विषयमा यसअघि भइरहेका प्रयासबारे अध्ययन गरेर अघि बढ्ने उनले बताए । ‘अहिलेको प्रविधिलाई स्तरोन्नति गर्न असहज छैन, प्रविधिलाई चुस्त दुरुस्त बनाउने र कारोबारलाई सहजीकरण गर्न जोड दिनेछु’ उनले भने ।
मंगलबार मन्त्रालयका राजस्व सचिव दिनेशकुमार घिमिरेमार्फत उनले नियुक्ति पत्र बुझेका थिए। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो।
झापा जिल्ला स्थायी घर भएका चापागाईले यसअघि सानिमा बैंकमा काम गरेका थिए । साथै उनले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा डेपुटी जनरल म्यानेजरको रुपमा पनि काम गरेका छन्।
तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको पदावधि सकिएपछि गत माघ २५ गतेदेखि नेप्सेको सीईओ पद खाली थियो ।