आजदेखि अन्तिम १५ मिनेटको शेयर कारोबारको आधारमा अन्तिम मूल्य कायम
Last updated at 03:02 pm
बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले आज अर्थात् चैत ७ गतेदेखि २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गर्ने भएको छ।
धितोपत्र बजारमा अन्तिम समयमा कम्पनीको मूल्य बढाएर चलखेल गर्ने प्रवृत्तिलाई रोक्नु पर्ने माग आइरहेपछि नेप्सेले यस्तो व्यवस्था गर्न लागेको हो।अन्तिममा समय मूल्य बढाउँदा ठूला लगानीकर्तालाई दुई तरिकाले फाइदा पुग्छ।यसबाट शेयर धितो कर्जा लिएकाहरूले मार्जिन (धितो) थप्न नपर्ने हुनसक्छ भने अर्को दिनको कारोबारमा मूल्य बढ्दा आफूसँग यसअघि नै रहेको सोही कम्पनीको शेयर बिक्री गरेर नाफा निकाल्न सक्छन्।
किनभने भालिपल्टको कारोबारमा अघिल्लो दिनको अन्तिम मूल्यको दुई प्रतिशतसम्म घटबढ हुने गरेर कारोबार गर्न पाइने व्यवस्था नेप्सेको प्रणालीमा छ।
नेपालमा अहिले शेयर बजार बन्द हुँदाको कम्पनीहरूको मूल्यलाई नै सो दिनको अन्तिम मूल्यको रूपमै लिने गरिन्छ। तर विभिन्न मुलुकमा भने अलग अलग अभ्यास भएको पाइन्छ।त्यसो त भारतमा बम्बे स्टक एक्सचेन्ज(बीएसई) र नेशनल स्टक एक्सचेन्ज(एनएसई) ले पनि नेप्सेले लागू गर्न लागेकै अभ्यास गरिरहेका छन् ।त्यहाँ बजारको नियमित कारोबार समयको अन्तिम ३० मिनेट भित्रमा हुने कारोबारको आधारमा कम्पनीहरूको औसत मूल्य मानिन्छ । यही अन्तिम मूल्य मानिन्छ।
भारतमा बिहान नौ बजेदेखि चार बजेसम्म सेयर कारोबारको लागि बजार खुल्छ। तर, फरक–फरक तरिकाले कारोबार गर्न सकिने व्यवस्था मिलाइएको छ।बिहान ९ बजेदेखि ९ बजेर १५ मिनेटको समयलाई प्रिओपन, ९ बजेर १५ देखि ३ बजेर ३० मिनेटसम्मको कारोबारलाई नियमित सेयन र ३ बजेर ४० मिनेटदेखि चार बजेको समयलाई पोस्ट क्लोजिङ सेसनको रुपमा मान्ने चलन छ ।
अन्तिम मूल्य लिँदा भने ३ बजेदेखि ३ बजेर ३० मिनेट जाँदा हुने कम्पनीहरूको कारोबार परिमाण र मूल्यलाई लिइन्छ। ती अन्तिम समयमा कारोबार भएको शेयर संख्या र मूल्यको आधार औसत मूल्य निकालेर अन्तिम मूल्य तोक्ने गरिन्छ।
नेपालमा पनि नेप्सेले यस्तै अभ्यास लागू गर्न लागेको हो ।नेप्सेका अनसार यदी अन्तिम १५ मिनेटमा कुनै कम्पनीको थप शेयर किनबेच भएन भने १५ मिनेट बाँकी हुँदा बजारमा जुन मूल्य छ त्यही नै कायम हुने समेत स्पष्ट पारेको छ।