ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ आजदेखि निष्कासनमा

Last updated at 02:04 pm
ओम मेगाश्री फर्मास्यूटिकल्सले आज अर्थात् फागुन २७ गतेदेखि आईपीओ निष्कासन गरेको छ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेकाले दोस्रोचरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमा १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकिएको छ।
यसैगरी, कम्पनीले ५४ हजार कित्ता कम्पनीका कर्मचारी र ९० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ। अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर निष्कासन गरेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। धितोपत्र निष्कासन बन्द छिटोमा चैत ३ गते हुनेछ भने ढिलोमा चैत १२ गते हुनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी आवेदन दिन सक्नेछन्।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ।