सेबीको पूर्वप्रमुख विरुद्ध मुद्दा दर्ता गर्न आदेश, शेयर बजारमा धोखाधडी र नियम उल्लंघन
Last updated at 03:59 pm
शेयर बजार नियामक सेक्युरिटिज एण्ड एक्सचेञ्ज बोर्ड अफ इन्डिया (सेबी) को पूर्वप्रमुख माधबी पुरी बुचसहित छ जनाविरुद्ध मुद्दा दर्ता अदालतले आदेश दिएको छ ।
मुम्बईको एक विशेष अदालतले शनिबार शेयर बजारमा धोखाधडी र नियम उल्लंघन गरेको देखिएको भन्दै उनीहरु विरुद्ध मुद्दा दर्ता गर्ने आदेश दिएको हो।अदालतले भ्रष्टाचार निरोधक ब्यूरोलाई उक्त आदेश दिएको हो । उनीहरूविरुद्ध धोखाधडीको आरोप छ ।
उक्त अदालतका न्यायाधीश शशिकान्त एकनाथराव बांगरले दिएको आदेशमा उक्त घटनामा नियामक कमजोरी र मिलेमतोको सबुत भेटिएको भन्दै निष्पक्ष अनुसन्धानको आवश्यकता देखिएको उल्लेख छ।
अदालतले ब्यूरोलाई ३० दिनभित्र उक्त घटनाको प्रतिवेदन बुझाउनसमेत भनेको छ । साथै अदालतले उक्त अनुसन्धानबारे निगरानी गर्नेसमेत बताएको छ ।
सेबीमाथि मापदण्ड पूरा नगरेको एक कम्पनीलाई स्टक एक्सचेञ्जमा सूचीकरण गराएर कर्पोरेट धोखाधडीका लागि बाटो खोलेको आरोप छ । उक्त कम्पनीको सूचीकरणका लागि सेबी अधिनियम १९९२ को पालना नगरिएको दाबी गरिएको छ ।तर अदालतको उक्त आदेश विरुद्ध सेबीले रिट दायर गर्ने बताएको छ।
बुचमाथि अमेरिकाको रिसर्च एण्ड इनभेस्टमेन्ट कम्पनी हिन्डेनबर्गले बुच र उनका पति धवल बुचमाथि विदेशमा आफसोर फण्डमा लगानी गरेको आरोप लगाएको थियो । तर उनीहरुले उक्त आरोपको खण्डन गरेका थिए ।
यसैबीच,भारत सरकारले सेबीको नयाँ प्रमुखमा तुहिनकान्त पाण्डेलाई नियुक्त गरेको छ ।अर्थसचिवसमेत रहेका पाण्डेलाई सेबीको अध्यक्षमा नियुक्त भएका हुन् । उनले अध्यक्ष बुचको स्थानमा जिम्मेवारी सम्हाल्ने छन् ।उनको कार्यकाल तीन वर्षको हुने छ।
वर्तमान सेबी अध्यक्ष बुचको कार्यकाल २८ फरबरीमा समाप्त समाप्त भएको छ ।उनले २ मार्च सन् २०२२ मा अध्यक्षको पदभार सम्हालेकी थिइन् । बुच सेबीको पहिलो महिला प्रमुख बनेकी थिइन्।
भारतको धितोपत्र बजार हाल ओरालो यात्रामा छ । सेबी प्रमुख बुचको कार्यकाल हिन्डेनबर्ग रिसर्चको शेयर घोटालाबारे रिपार्ट सार्वजनिक भएपछि अत्यन्त विवादास्पद बनेको थियो ।एजेन्सीहरु