एभरेष्ट बैंकको ऋणपत्र निष्कासनमा,मुद्दतीभन्दा धेरै ब्याज
Last updated at 01:47 pm
एभरेष्ट बैंकले आज अर्थात् फागुन १८ गतेदेखि ऋणपत्र निष्कासन गरेको छ ।
कम्पनीले १० वर्षे अवधिको वार्षिक ७ दशमलव ५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ निष्कासन गरेको हो।
कम्पनीले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाई र अधिकतममा १२ लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा फागुन २१ गते तथा ढिलोमा चैत ३ गते हुने विवरणपत्रमा उल्लेख छ ।
ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले उक्त कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च सुरक्षित रहेको संकेत गर्दछ।
सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ।धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ।
हाल बैंकहरुले ६% काे हाराहारीमा ब्याज दिइरहेका छन् ।