आईसीएफसी फाइनान्सको ऋणपत्र खुला, ९% ब्याज
Last updated at 11:08 am
आईसीएफसी फाइनान्सले ऋणपत्रमा लगानीका लागि आवेदन खुला गरेको छ । कम्पनीको ऋणपत्रमा लगानी गर्न चाहनेका लागि आवेदन खुलेको हो ।
उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक नौ प्रतिशत ब्याजदर पाउने छन् । बिक्री प्रवन्धकमा कुमारी क्यापिटल छ । ऋणपत्रको अंकित मूल्य १ हजार रुपैयाँ छ । न्यूनतम २५ कित्ता अर्थात् २५ हजार रुपैयाँ लगानी गर्न सकिन्छ भने अधिकतम १ लाख २० हजार कित्ताका लागि आवेदन दिन सकिने क्यापिटलले बताएको छ ।
कम्पनीलेकुल १० करोड ऋणपूँजी रकम व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। कम्पनीले कुल ३ लाख कित्ता अर्थात् ३० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
अनलाइन प्रणाली मेरोसेयरमार्फत ऋणपत्रमा आवेदन दिन सकिनेछ । त्यस्तै छिटोमा माघ १३ र ढिलोमा २३ गतेसम्म आवेदन दिन सकिनेछ। सात वर्षे अवधिको उक्त ऋणपत्र नेप्सेमा सूचीकृत भएपछि दोश्रो बजारमा कारोबारमा आउनेछ ।
निक्षेपको ब्याजदर घट्दै गएका बेला हाल बैंकहरुले मुद्दती निक्षेपमा ६ प्रतिशत हाराहारीमा ब्याज दिइरहेका छन् । यस्तो अवस्थामा नौ प्रतिशत ब्याज पाइने उक्त वित्त कम्पनीको ऋणपत्र लगानीका लागि बढी प्रतिफलमूलक देखिन्छ ।