सुमेरु पोलिमर्सले आईपीओ निष्कासन गर्ने, प्रोस्पेरिटी भेञ्चर्ससँग सम्झौता
Last updated at 08:41 am
सुमेरु पोलिमर्स लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी शुरु गरेको छ ।
हाल १० करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीले उत्पादन क्षमता वृद्धि सँगसँगै जारी पूँजी समेत वृद्धि गरी २७ करोड पुर्याई जारी पूँजीको ३० प्रतिशत अर्थात् ८ करोड १० लाख बराबरको आईपीओ आगामी आर्थिक वर्षसम्म निष्कासन गर्ने योजना बनाएको छ ।
उद्योग तथा व्यापार क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरुले सञ्चालन गरिरहेको उक्त कम्पनीले चालू आर्थिक वर्ष भित्रमा नयाँ व्यक्ति तथा संस्थागत लगानी मार्फत ८ करोड ९० लाख रुपैयाँ थप पूँजी जुटाई संस्थापक समूहको सेयर स्वामित्व १८ करोड ९० लाख पुर्याउने तयारीका साथ प्रोस्पेरिटी भेञ्चर्स प्रालिसँग लगानी गर्ने, लगानीकालागि सहजीकरण गरिदिने तथा सावर्जनिक निष्कासनका विषयमा कम्पनीलाई प्रारम्भिक परामर्श दिने कार्यकालागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न गरेको छ ।
उक्त समझदारीपत्रमा कम्पनीको तर्फबाट प्रवन्ध सञ्चालक दिवश घिमिरे र प्रोस्पेरिटी भेञ्चर्सका तर्फबाट प्रवन्ध सञ्चालक कमल प्रसाद नेपालले हस्ताक्षर गरेका छन्।
पछिल्लो तीन वर्षदेखि लगातार वार्षिक २१ करोड रुपैयाँ बराबरको कारोबार गर्दै आईरहेको कम्पनीले थप पूँजी जुटाए पश्चात् उत्पादन वृद्धि तथा बजार क्षेत्रको विस्तार गरी आगामी आर्थिक वर्षमा वार्षिक कारोबार ३० करोड पुर्याउने लक्ष्य राखेको बताएको छ । हाल बजार क्षेत्र कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, सुदूर पश्चित प्रदेश रहेको विस्तार गरेर सात वटै प्रदेशमा बजार क्षेत्र विस्तार गर्ने योजना राखेको कम्पनीले बताएको छ ।
आव २०८०/०८१ को वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ छ भने प्रतिशेयर आम्दानी ८ दशमलव २४ रुपैयाँ छ । प्रचलित कम्पनी कानून तथा धितोपत्र सम्बन्धी कानूनमा तोकिएको व्यवस्था बमोजिम यस कम्पनी योग्य भएमा प्रिमियम मूल्यमा समेत सर्वसाधारणमा सेयर निष्कासन गर्ने कम्पनीले बताएको छ ।
कम्पनीले नेपालमै पहिलो पटक पिभिसी, एचडिपिई, सिपिभिसी पाईप तथा फिटिङ्गस्का सामानहरु उत्पादन गरिरहेको छ । विसं २०७४ सालमा प्राईवेट कम्पनीको रुपमा पनौति नगरपालिका ९, काभ्रेमा करिब ११ रोपनी जग्गामा उद्योग स्थापना गरी आफ्नो व्यापारिक उत्पादन गरिरहेको उक्त कम्पनी चालू आर्थिक वर्षमा पब्लिक कम्पनीमा परिणत भइसकेको छ ।