सिद्धार्थ हस्पिटालिटीले चितवनमा सञ्चालनमा ल्यायो तेस्रो होटल
Last updated at 05:29 pm
प्रतिष्ठित व्यवसायिक घराना सिद्धार्थ बिजनेस ग्रूपले चितवनमा अर्को होटल सञ्चालनमा ल्याएको छ ।उक्त व्यवसायिक घरानाले होटल संख्या थप्दै जाने क्रममा चितवन नारायणगढमा नयाँ होटल सञ्चालनमा ल्याएको हो ।
सिद्धार्थले नारायणगढमा रहेको होटल सेन्ट्रल पामलाई २५ वर्षका लागि भाडामा लिएर नयाँ नामबाट सञ्चालनमा ल्याएको हो । नयाँ होटलको नाम ‘सिद्धार्थ होटल चितवन’ राखिएको छ । सिद्धार्थले यो होटलमा थप १५ करोड रुपैयाँ लगानी गर्ने बताएको छ ।
होटलको क्षेत्रफल करिब २५ रोपनी छ । होटलमा हाल स्विट, सुपर डिलक्स र डिलक्स गरी ४४ कोठा छन् । होटलमा अहिले ६५ जनाले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ।
कम्पनीले हाल भएको पूर्वाधारमा लगानी थप गरी सुविधा विस्तारको योजना बनाएको बताएको छ ।सिद्धार्थ ग्रुपले सिद्धार्थ हस्पिटालिटी चेनअन्तर्गत हाल ३० भन्दा बढी होटल सञ्चालन गरिरहेको छ । कम्पनीका अनुसार पाँचतारे स्तरमा सिद्धार्थ भिलासा, चारतारे स्तरमा सिद्धार्थ वैभव, तीनतारे स्तरका सिद्धार्थ बाटिका अन्तर्गत विभिन्न होटल छन् ।
त्यसबाहेक विभिन्न स्थानमा सिद्धार्थले कटेज रेस्टुरेन्ट, रिसोर्ट तथा एस क्याफे पनि सञ्चालन गरिरहेको छ । चितवनमा योसहित सिद्धार्थका तीन होटल पुगेका छन् ।