डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालको अध्यक्षमा सुयोग श्रेष्ठ दोहोरिए
Last updated at 08:22 pm
विकास बैंकहरुको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएशन नेपाल (डीबान) को अध्यक्षमा सुयोग श्रेष्ठ पुनः निर्वाचित भएका छन् ।
बिहीबार पोखरामा आयोजना गरिएको एशोसिएशनको १९ औं वार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा ना सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । श्रेष्ठ साङ्ग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) हुन् ।
समितिको उपाध्यक्षमा कामना सेवा विकास बैंकका सीईओ दिनेश थकाली, सचिवमा गरिमा विकास बैंकको सीईओ माधव प्रसाद उपाध्याय तथा कोषाध्यक्षमा ज्योति विकास बैंकका सीईओ कपिल ढकाल निर्वाचित भएका छन् ।
यसैगरी, कार्यसमिति सदस्यहरूमा लुम्बिनी विकास बैंकका नरेशसिंह बोहरा, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रकाश पौडेल, महालक्ष्मी विकास बैंकका दीपेश लम्साल, ग्रिन डेभलपमेन्ट बैंकका हरिबहादुर बुढाथोकी र सप्तकोसी डेभलपमेन्ट बैंकका दिनेश पोखरेल चयन भएका छन् ।
सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, चालू आवको अनुमानित आय व्यय र लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ । कार्यक्रममा अध्यक्ष श्रेष्ठले नयाँ कार्यकालमा विकास बैंकको हकहितका लागि कार्य गर्ने प्रतिबद्धता जनाए ।