कोकाकोलाको वाउ परियोजना : फोहोरबाट समृद्धि
Last updated at 08:16 am
वर्ल्ड रिसाइक्लिङ डेको अवसरमा खालिसिसि र कोका–कोला बेभरेजेज नेपालले फोहोर व्यवस्थापन, महिला सशक्तीकरण र दिगो विकासमा केन्द्रित वाउ परियोजनाले पहिलो वर्ष पूरा गरेको घोषणा गरेका छन्।
उक्त परियोजनाले एक वर्षभित्र १ लाख ४४ हजार पेट बोतलहरू ल्यान्डफिलमा जान जोगाएर पुनःप्रयोगयोग्य स्रोतका रूपमा परिणत गरिसकेको छ। परियोजनाअन्तर्गत बुढानीलकण्ठमा स्थापना गरिएको मटेरियल रिकभरी फ्यासिलिटी (एमआरएफ) मा पेट बोतलहरू संकलन, छनोट र प्रशोधन गरिन्छ।
खालिसिसिका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अमुन थापाले वाउ परियोजना केवल फोहोर व्यवस्थापनको विषय मात्र नभएर यो सामाजिक समानता र दिगोपनको यात्राको सहयात्री भएको बताए । उनका अनुसार, यसले महिलालाई आर्थिक रूपमा सशक्त पार्दै फोहोरलाई अवसरमा बदल्ने काम गरिरहेको छ।
बुढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले सर्कुलर इकोनोमीको अवधारणालाई अघि बढाउँदै वाउ परियोजनाले फोहोरमुक्त बुढानीलकण्ठ निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
परियोजना आर्थिक सशक्तीकरणमा केन्द्रित छ। हालसम्म ८० प्रतिशत महिलासहित ३५ जना महिला श्रमिकहरू प्रत्यक्ष रूपमा संलग्न छन् भने ५० जना अनौपचारिक फोहोर संकलनकर्ताहरू (खालिसिसि फ्रेन्ड्स) लाई डिजिटल साक्षरता, बैंकिङ र सामाजिक सञ्जाल प्रयोगबारे तालिम दिइएको छ।
कोका(कोला बेभरेजेज नेपालका पब्लिक अफेयर्स, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर स्नेह राजभण्डारीका अनुसार दिगो व्यापार अभ्यासमार्फत सकारात्मक परिवर्तन ल्याउने लक्ष्यका साथ वाउ परियोजनाले काम गरिरहेको बताए ।
परियोजना अन्तर्गत २० वटा संकलन केन्द्रहरू, खेलकूद स्थल, विद्यालय र सार्वजनिक कार्यालयहरू स्थापना भइसकेका छन्। यसले युवाहरूलाई फोहोर व्यवस्थापनमा जिम्मेवार बन्न प्रेरित गर्दै नेपालको दिगो भविष्य निर्माणमा योगदान पुर्याउने आयोजकहरूको विश्वास छ।