विभिन्न कोषमा भएको रकम रोजगारी बढाउने क्षेत्रमा प्रयोग गरौं : अध्यक्ष ढकाल
Last updated at 12:08 pm
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विभिन्न कोषमा रहेको रकम लगानी उत्पादनमुलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सवको अवसरमाबोल्दै उनले यस्तो बताएका हुन् ।उनले नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष(एसएसएफ)लगायतका कोषहरुको लगानी पूर्वाधार निर्माण, रोजगारी सृजना, पर्यटन प्रवर्द्धन, हाइड्रोपावर लगायतका क्षेत्रमा उपयोग गर्नुपर्ने पनि बताए ।
उनले कोषहरुको करिब ५२ प्रतिशतभन्दा बढी रकम बैंक तथा वित्तीय संस्थाहरुमा फिक्स डिपोजिटको रुपमा रहेको भन्दै यसको उपयोग रोजगारी सृजनाका साथै विकास निर्माणका क्षेत्रमा गर्नुपर्ने बताए ।
नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायत कोषहरुमा करिब ५२ प्रतिशत भन्दा बढी फण्ड रहेको बताउँदै उनले भने, ‘करिब २ खर्ब ७० अर्बको हाराहारीमा यहाँहरुको फण्ड रहेछ । त्यसैगरेर एसएसएफको कुरा गर्दा १ खर्ब जति छ । सञ्चय कोषको पनि त्यति नै ठूलो फण्ड छ । तर हामी खासगरी रोजगारी सृजना, पूर्वाधार बनाउने कुराहरु, आम पब्लिकलाई सर्भिस दिनेकुराको त्यत्तिकै खाँचो छ । यो फण्डको प्रयोग गर्न सकिरहेका छैनौं ।’
उनले थपे, ‘एउटा मेरिट बेसिसमा सर्टेन प्रसेन्टेज पूर्वाधार निर्माण, रोजगारी सृजना, पर्यटन प्रवर्द्धन, हाइड्रोपावर लगायत कतिपय फण्ड सरकार मातहतका कम्पनीहरुमा शुरु भइसकेको छ । निजी क्षेत्रको प्रोजेक्टमा पनि लगानी गर्नुपर्छ ।’
अध्यक्ष ढकालले जम्मा भएका फण्डहरु विकास निर्माण, उत्पादनशील क्षेत्र र रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी गर्नेगरी अघि बढ्नुपर्ने पनि बताए ।
यसैगरी, अर्थसचिव घनश्याम उपाध्यायले नागरिक लगानी कोषको रकम नागरिकको हितका लागि उपयोग गर्न आवश्यक रहेको बताए । उनले सरकारका प्राथमिकताका क्षेत्रहरुमा कसरी अघि बढाउने भन्नेकुरामा कोषले ध्यान दिनुपर्ने बताए ।
त्यस्तै नागरिक लगानी कोषका अध्यक्ष डासूर्यबहादुर थापाले चालू आर्थिक वर्षको पुस मसान्तसम्म कोषले सञ्चालनमा रहेका आयोजनाहरुको २ खर्ब ७३ अर्ब ७२ करोड खुद कोष मौज्दात रहेको बताए । यस अवधिमा कोषले २ खर्ब ६४ करोड ७८ लाख लगानी गरेको छ । कृषि,पर्यटन, उर्जा र भौतिक पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा आफ्नो लगानी बिस्तर गर्नेतर्फ कोष अग्रसर रहेको उनको भनाइ छ ।