सुर्खेत र धनगढी विमानस्थलमा यती एअरलाइन्सले गर्यो परीक्षण उडान
Last updated at 05:08 pm
यती एअरलाइन्सले शनिबार सुर्खेत र धनगढी विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको छ ।
कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार यती एअरलाइन्सको ९ एन–एएमएन एटीआर ७२ विमानले कर्णाली प्रदेशको सुर्खेत विमानस्थल र सुदूरपश्चिम प्रदेशको धनगढी विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको हो ।
नेपालगन्ज विमानस्थलबाट उडेको यतीको विमान सुर्खेत विमानस्थलमा दिउँसो १२ः१७ मा अवतरण गरेको थियो भने नेपालगन्जबाटै उडेको सोही विमान दिउँसो २ः४५ बजे धनगढी विमानस्थलमा अवतरण गरेको थियो ।
परीक्षण उडानलाई एअरलाइन्सका प्रशिक्षक पाइलटहरूद्वय क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले उडान गरेका थिए । उडानको अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण तथा यती एअरलाइन्सका प्राविधिक तथ प्रतिनिधिहरूको टोली साथमा थिए ।
यसअघि कम्पनीका जहाजले राजविराज विमानस्थलमा पनि सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरिसकेको छ । कम्पनीले उक्त विमानस्थलहरूमा निकट भविष्यमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानको रूपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरेको बताएको छ।
परीक्षण उडानको रिपोर्टको आधारमा आगामी दिनमा नियमित उडान गर्ने तयारी छ ।यात्रुहरूको मागलाई ध्यानमा राखी उडानको दायरा बढाउदै आफ्नो बजार हिस्सा विस्तार गर्ने उद्देश्य लिएको कम्पनीका एकाउन्टेवल म्यानेजर तथा प्रमुख व्यापार अधिकृत युवराजकुमार विष्टले जानकारी दिए । उनले यी विमानस्थलहरूमा हुने नियमित उडानसँगै यती एअरलाइन्सप्रतिको यात्रुहरूको विश्वास तथा माया अझ बढ्ने धारणा व्यक्त गरे ।
यतीले सात वटा एटीआर ७२ विमान मार्फत नियमित रूपमा काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज विमानस्थल लगायत पर्वतीय उडानहरू गर्दै आएको छ भने निकट भविष्यमा थप विमान मार्फत सेवा विस्तार गर्ने नीति लिएको बताएको छ ।