टाइम फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट
Last updated at 11:43 am
टाइम फर्मास्युटिकल्स लिमिटेडले बुक विल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ ।
कम्पनीले आईपीओ जारी गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक सुदर्शन लाल श्रेष्ठ र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
गण्डकी प्रदेशको नवलपुर जिल्ला, गैंडाकोटमा अवस्थित टाइम फर्मास्युटिकल्स डब्लूएचओ जीएमपी प्रमाणित औषधि उत्पादक कम्पनी हो । जसको स्थापना सन् १९९५ को अक्टोबरमा भएको हो । कम्पनीले उच्च मूल्यको ठोस, अर्धठोस र तरल उत्पादनहरुको विविध पोर्टफोलियो विकास गरेको बताएको छ ।
स्थापना भएको दुई वर्षपछि अर्थात् सन् १९९७ देखि आफ्नो व्यावसायिक उत्पादन र मार्केटिङ शुरु गरी स्थापनाको २८ वर्षमा विभिन्न थेराप्युटिक सेगमेन्टका २०० भन्दा बढी उत्पादनहरुको बजारीकरण गर्न सक्षम भएको कम्पनीको भनाइ छ ।
निजी लगानीमा स्थापना भएको यो कम्पनी मुलुककै पुरानो औषधी उद्योग मध्यको एक हो ।कम्पनीले उत्पादन गर्ने औषधीको अहिले बजारमा माग बढेको र बजार हिस्सा पनि विस्तार हुँदै गएको छ।