केटीएम हस्पिटालिटीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ
Last updated at 07:45 am
केटीएम हस्पिटालिटी लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले १२ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित मूल्यमा १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले आरविवि मर्चेन्टसँग यस विषयमा असार १८ गते सम्झौता गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालको उपस्थितिमा आयोजित कार्यक्रममा कम्पनीको तर्फबाट अध्यक्ष तथा प्रमुख कार्यकारी रामेश्वर शाह र आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।
केटीएम हस्पिटालिटी लिमिटेडले फ्रान्सको प्रतिष्ठित अन्तरराष्ट्रिय लुभ्र होटल्स समूहअन्तर्गतको एक लक्जरी पाँचतारे रिसोर्ट द रोयल ट्युलिप चितवनमा शुरुवात गर्ने तयारी गरेको छ । केटीएम ग्रूप होल्डिङ्गस अन्तर्गत सञ्चालित उक्त कम्पनीको चुक्तापूँजी ४५ करोड रुपैयाँ छ ।