स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा ‘करेस्पोन्डेन्ट बैंकिङ एकेडमी’ आयोजना, १५ देशको सहभागिता
Last updated at 06:48 am
स्ट्यान्डर्ड चार्टर्ड बैंक अफ नेपालले पहिलोपटक नेपालमा ‘करेस्पोन्डेन्ट बैंकिङ एकेडमी’ आयोजना गरेको छ। अन्तरराष्ट्रिय बैंकिङ सञ्चालनलाई सुदृढ बनाउने, अनुपालन मापदण्ड सुधार गर्ने र विश्वव्यापी उत्कृष्ट अभ्यासहरू प्रवर्द्धन गर्ने उद्देश्यले कम्पनीले हालै काठमाडौंमा दुई दिने कार्यशाला आयोजना गरेको हो ।
कार्यशालाको उद्घाटन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव फणिन्द्र गौतमले गरेका थिए। सो अवसरमा उनले यस्ता कार्यक्रम नेपालमा सञ्चालन गर्नुको आवश्यकता औंल्याउँदै स्ट्यान्डर्ड चार्टर्ड बैंकले गरेको यस्तो पहलको प्रशंसायोग्य रहेको बताए । साथै उनले वित्तीय अपराध नियन्त्रणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।
कार्यशालामा एशियान र दक्षिण एशियाका १५ देशका १३० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो। कार्यक्रममा केन्द्रीय बैंक, नियामक निकाय र बैंकिङ क्षेत्रका प्रमुख व्यक्तित्वहरूको सहभागिता थियो।
दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा बैंकिङ र डिजिटल क्षमताको प्रगति, जोखिम व्यवस्थापन, एन्टी–मनी लन्डरिङ तथा आतंकवादी वित्तीयकरणविरुद्धका उपाय, सीमापार कारोबारका चुनौती, वित्तीय सन्देश प्रणालीमा नवप्रवर्तन र विदेशी विनिमयसम्बन्धी विषयमा व्यापक छलफल भएको थियो।
कार्यशालामा चानी सिओङ, क्रिस फ्लेमिङ, सेर्हाने भिक्टर र जयेश कदमलगायत क्षेत्रीय विशेषज्ञहरूले प्रशिक्षण दिएका थिए।